यमपञ्चकको दोस्रो दिन प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न गरिएको छ। कुकुर तिहारको अवसरमा प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा आज एक कार्यक्रमको आयोजना गरी कुकुर पूजा गरिएको हो।
नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले कार्यालयमा रहेका विभिन्न जातका कुकुरलाई पूजा गरे। उनले शान्ति सुरक्षा र अपराध अनुसन्धान तथा खोज कार्यमा कुकुरको महत्त्वपूर्ण भूमिका रहेको बताए।
गम्भीर प्रकृतिका घटना पत्ता लगाउन कुकुरले खेलेको भूमिकाको उनले प्रशंसा गरेका थिए। प्रहरी नायब महानिरीक्षक रानाले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट हराएका करिब २४ शव कुकुरकै सहायतामा पत्ता लगाउन सहज भएको बताए।
नेपालमा स्थापनाकालदेखि केनाइन कार्यालयले अपराध अनुसन्धानमा ठूलो सफलता हासिल गरेको उनको भनाइ छ। कार्यक्रममा केनाइन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा. रामचन्द्र सत्यालले २०२६ सालमा स्थापना भएको केनाइन कार्यालयले हाल देशभर १४ स्थानबाट सेवा प्रदान गर्दै आइरहेको बताए।
उनका अनुसार हाल देशभर केनाइन केन्द्रमा १०७ कुकुर छन्। कार्यालयका प्राविधिक प्रहरी नायब उपरीक्षक डा. चेतनारायण ज्ञवालीले नेपाल प्रहरीको कार्यसम्पादनमा कुकुरले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए।
कार्यक्रममा यस वर्ष उत्कृष्ट कार्य गर्ने कुकुर, बाधापार र हाइजम्पतर्फ प्रदर्शनमा उत्कृष्ट हुने कुकुर, रनिङतर्फ उत्कृष्ट हुने कुकुरलाई पुरस्कार प्रदान गरिएको थियो। साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई समेत पुरस्कार प्रदान गरिएको थियो।
उक्त कार्यालयका प्रहरी कर्मचारी र प्रहरी कुकुरले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा पहिचान, लागुऔषधको खोजी तथा पहिचान, अपराधीको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार र खोजी तथा उद्धार कार्यलगायतको प्रदर्शनी गरेका थिए।
प्रकाशित: २२ कार्तिक २०८३ १३:४८ आइतबार





