१४ चैत्र २०८१ बिहीबार
image/svg+xml १५:३१ अपराह्न
राजनीति

कुलमान हटाइएपछि दाहाल: ‘दुई तिहाईको दम्भमा गलत निर्णय’

फाइल।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आपत्ति जनाएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले सरकारको यो कदमलाई ‘गलत र आपत्तिजनक’ भन्दै विरोध जनाएका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गर्दै हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी निर्देशकका रूपमा नियुक्त गरेको थियो।

सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै दाहालले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘’आशा गरौं, यो खबर असत्य होस्। यदि सत्य हो भने सरकारको यो निर्णय पूर्ण रूपमा गलत र आपत्तिजनक छ। कथित दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयको घोर निन्दा गर्दछु।‘’

उनले सरकार घिसिङमाथि अन्याय गरिरहेको आरोपसमेत लगाए। ‘’देशभर चरम लोडसेडिङ रहेको बेला मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो,’’ दाहालले भनेका छन्, ‘’उनको विज्ञता, क्षमता र हाम्रो सरकारको प्रयासबाट नै नेपाललाई उज्यालो बनाउन सफल भएका थियौं। तर, जनताको पैसा उठाउनु पर्ने माग राखेकै कारण उनलाई पटक–पटक स्पष्टीकरण सोध्दै अन्याय गरियो, अन्ततः पदमुक्त नै गरियो, जुन गलत हो।‘’

सरकारको निर्णयको चौतर्फी आलोचना भइरहेको छ भने घिसिङको बर्खास्तीलाई लिएर सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया व्यक्त गरिएका छन्।

प्रकाशित: ११ चैत्र २०८१ २२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App