प्रधानमन्त्री (पीएम) कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । फाइनल शनिबार हुनेछ ।
लिग चरणको आफ्नो अन्तिम खेलमा बिहीबार पुलिसलाई ४ विकेटले पराजित गरेसँगै आर्मीले पनि फाइनलमा स्थान बनाएको हो । यसअघिका सबै ८ खेलमा जित निकाल्दै पुलिसले पनि फाइनलमा स्थान बनाइसकेको थियो । आर्मीसँग पराजित भएसँगै पुलिसको पनि अपराजित यात्रामा पूर्णविराम लागेको छ । आर्मीको जितले अर्को विभागीय टोली नेपाल एपीएफ क्लबको फाइनल प्रवेशको सम्भावना पनि सकिएको छ ।
९ खेलको समाप्तिमा पुलिस १६ अंकमा शीर्ष स्थानमा रह्यो भने समान अंक भएपनि आर्मी रनरेटका आधारमा दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनाउन सफल भयो । एपीएफ १४ अंकमा तेस्रोमा रहँदै प्रतियोगिता सकाएको छ ।
पुलिसले दिएको १४९ रनको लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । उसको जितमा नटआउट रहँदै विवेककुमार यादवले ४१ र क्याप्टेन विनोद भण्डारीले १३ रन बनाए । यस्तै त्रितराज दासले २५, भीम सार्कीले २३ र सन्तोष कार्कीले २२ रनको योगदान गरे ।
बलिङमा ललित राजवंशीले ४ विकेट लिँदा क्याप्टेन दीपेन्द्र सिंह ऐरी र करण केसीले समान एक विकेट लिए ।
यसअघि एक्स्ट्रा टेक ओभलमा पहिला ब्याटिङ गरेको पुलिस ४१.४ ओभरमा १४८ रनमा अलआउट भएको थियो।
पुलिसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ३७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५० रन जोडे । आरिफ शेख २२, गुल्शन झा १७ रनमा आउट हुँदा सागर ढकाल १६ रनमा अविजित रहे ।
पुलिसलाई कम योगफलमा समेट्न आर्मीका लागि १० नै विकेट स्पिनरले लिए । शाहब आलमले ४, नरेन साउदले ३ तथा भीम सार्की र कुशल मल्लले समान १ विकेट लिए ।
योसँगै शाहबले पीएम कपमा आफ्नो सय विकेटको आँकडा पूरा गरेका छन् । शाहबले ४७ इनिङमा १ सय विकेट पूरा गरेका हुन् । यसअघि पुलिसका ललितनारायण राजवंशीले १ सय विकेट पूरा गरेका थिए ।
प्रकाशित: १४ चैत्र २०८१ १५:१३ बिहीबार