पूर्वराजा ज्ञानेन्द्र शाह हिजोआज अलि मुखर सुनिन्छन्। पछिल्लो प्रजातन्त्र दिवसमा 'अब बेला भयो' भन्दै देश बचाउन आफूलाई साथ दिन जनआह्वान गरेका उनले अहिले मठ-मन्दिर धाइरहेका छन्।
पूर्वराजाको आह्वानबाट हौसिएका राजावादी दल तथा घटकहरू पनि अहिले सडकमै छन्। उनीहरू भन्दैछन्- अब गणतन्त्र पुग्यो, राजसंस्था चाहिन्छ!
गत फागुन २५ गते त उनीहरूले गणतन्त्रवादी दलहरूलाई हच्काइ पनि दिए। झन्डै एक महिना पोखरा बसेर काठमाडौं फर्किएका पूर्वराजालाई अभिनन्दन गर्न हजारौं जुटेका थिए। उनीहरूले राजालाई राजगद्दीमा फर्काएरै छाड्ने भन्दै नाराबाजी पनि घन्काए।
तर, 'राजा फर्काउँछौँ' भन्ने ती दल तथा घटकहरू नै एकजुट भने छैनन्। यसमा मुख्यत: राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल पर्छन्।
यी तीनै दल तथा घटकको उद्देश्य राजा फर्काउने नै हो तर, उनीहरू आपसमा नै मिल्न सकेका छैनन्। फागुन २५ को पूर्वराजाको अभिनन्दनको सहभागितालाई लिएर दुर्गा प्रसाईंले लिङ्देन र थापालाई 'जस बटुल्न मिसिएको' भनेर आरोपित गरेका छन्।
लिङ्देन र थापाले सार्वजनिक रूपमा यसको खण्डन त गरेनन्। तर, पार्टी समिति बैठकमा उनीहरूले यस्तो आरोप-प्रत्यारोपले कसैलाई फाइदा नगर्ने धारणा राखेका थिए।
प्रसाईं राजावादी कित्तामा खुलेको धेरै भएको छैन। उनी माओवादी, एमाले हुँदै राजावादी कित्तासम्म आइपुगेका हुन्। तर, पछिल्लो समय उनले एउटा तहको सङ्गठन बनाएका छन्। अहिले त उनी लिङ्देन र थापालाई 'गन्दैनन्' पनि। यसको उदाहरण 'जस बटुल्न मिसिएको' भन्ने अभिव्यक्ति नै काफी भइहाल्यो।
अर्कोतिर यता लिङ्देन र थापाबीच मिलाप छैन। यद्यपि, उनीहरू दुबै पुरानो राजावादी हुन्। उनीहरू निकै लामो समययता राजावादी पार्टी र आन्दोलनमा छन्। तर, मिल्न भने सकेका छैनन्। दुबैको माग राजसंस्था र सनातन हिन्दूराष्ट्र भए पनि आपसमा उनीहरू मिल्न सकेका छैनन्।
त्यसो त पछिल्लो समय उनीहरूको पार्टीबीच एकता हुने चर्चा थियो। पछिल्लो पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा लिङ्देन र थापाका बीचमा दुईपटक संवादसमेत भएको थियो। उनीहरूले 'मिलेर जानुपर्छ' भन्ने प्रारम्भिक निष्कर्षसमेत निकालेका थिए। तर, त्यो निष्कर्षको कार्यान्वयन भने भएको छैन। अहिले पनि उनीहरू छुट्टाछुट्टै छन्। त्यसमा पनि थापा अलिक लचक नै देखिन्छन्। तर, लिङ्देनले भने त्यति चासो देखाएका छैनन्।
२०७८ मंसिर १९ गते सम्पन्न राप्रपाको महाधिवेशनबाट लिङ्देन पार्टी अध्यक्ष निर्वाचित भए। सोही महाधिवेशनमा थापा पनि अध्यक्षका प्रत्याशी थिए। तर, लिङ्देन निर्वाचित भएपछि उनले पार्टी छाडे र राप्रपा नेपाल ब्युँताए। अहिले आएर उनले मिल्न खोजेका छन् तर, लिङ्देनले त्यति कान थापेका छैनन्। लक्ष्य प्राप्तिका लागि अन्ततोगत्वा: एकठाउँमा उभिनैपर्ने थापाले बताउने गरेका छन्।
मिल्नका लागि आफूहरू जहिल्यै तयार रहेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला बताउँछन्। 'पार्टी एकता पनि हरायो। तर, एकताका लागि हामी जहिले पनि सकारात्मक छौँ। अन्तत: एकता हुनैपर्छ, एक हातले ताली बज्दैन,' उनले भने।
अझ पछिल्लोपटक पूर्वराजाकै सक्रियतामा गठन भएको भनिएको राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले राजावादी यी दल तथा घटकहरूका बीचमा अर्को 'भाँजो' हालेको छ।
लिङ्देन र थापाले यो समितिलाई आफूहरूको शक्ति र भूमिकालाई पूर्वराजाबाटै बेवास्ता भएको रूपमा बुझेका छन्। त्यसैले उनीहरूले सुवेदीको 'कमान्डरसीप' लाई त्यति स्वीकारेका पनि छैनन्।
घटना यहाँसम्म आइपुग्दा 'राजा फर्काउँछौँ' भन्ने दल तथा घटकहरूबीच किन एकता गर्ने भन्ने स्वाभाविक प्रश्न पनि उठेको छ। स्वयम् पूर्वराजाबाटै 'बाइपास'मा परेपछि दुई राप्रपा 'पर्ख र हेर'को ठाउँमा पुगेका छन्। सुवेदी नेतृत्वको समिति बन्नु अघिसम्म सडकमै रहेका उनीहरू अहिले रक्षात्मक बनेका छन् भने एकताको विषय झन् बिर्सिँदै गएका छन्।
यो पनि पढ्नुहोस्
नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिको उपादेयता के ?प्रकाशित: ११ चैत्र २०८१ १८:४१ सोमबार