जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बिच एकताको औपचारिक टुंगो लागेको छ। दुई पार्टीबीच एकीकरणको टुंगो लागिसकेको र बढीमा १० दिनभित्रै यसको औपचारिक घोषणा हुने नाउपाका उपमहासचिव राजन गुरुङले बताए।
गुरुङका अनुसार एकीकृत पार्टीको अध्यक्ष सिके राउत, सहअध्यक्ष रन्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी रहने भएका छन्। चौधरी अहिले पनि नाउपाको संरक्षक हुन्। यसैगरी एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ राखिने भएको छ। चुनाव चिह्न नाउपाले अहिले प्रयोग गर्दै आएको ‘ढकिया’ रहने भएको छ।
जनमत पार्टीले अहिले प्रयोग गर्दै आएको चुनाव चिह्न ‘हर्न’ हो। एकीकृत नाम ‘नागरिक जनमत पार्टी’ राख्दा दुवै पार्टीको अहिलेको नामको पनि प्रतिनिधित्व हुने भएकाले यो सहमतिमा पुगिएको हो। ‘हाम्रो पार्टीका अध्यक्ष एकीकृत पार्टी पनि अध्यक्ष हुने सहमति भएकाले हामीले हाम्रो चुनाव चिह्न हर्न छाड्न तयार भएका हौं’, जनमत पार्टीका एक नेताले भने।
दुवै पार्टीले एकीकरणको ढाँचा तयार गर्न कार्यदल गठन गरेका छन्। नाउपाले बनाएको एकता कार्यदलमा गंगाराम चौधरी, रामलाल थारु र सुनिता चौधरी तथा जनमतले गठन गरेको कार्यदलमा अब्दुल खान, शरत्सिंह यादव र बालगोविन्द चौधरी छन्। दुवै कार्यदलले तीन दिनदेखि एक साताभित्र एकीकरणको रूपरेखा तयार गरी प्रतिवेदन बुझाउने र त्यसलगत्तै एकीकरणको औपचारिक घोषणा हुने कार्यक्रम तय गरिएको गुरुङले बताए।
सुरुमा अध्यक्ष पद छाड्न रन्जिता तयार थिइनन्। ‘रन्जिता श्रेष्ठ एकीकरणको पक्षमै हुनुहुन्थ्यो तर उहाँले अध्यक्ष पद छाड्न चाहनुभएको थिएन तर संरक्षक रेशम चौधरीलगायत पार्टीभित्रको ठुलो पंक्तिको दबाबले अध्यक्ष पद छाड्न तयार हुनुभएको देखिन्छ’, नाउपाका एक नेताले भने।
ती नेताका अनुसार रन्जिताका लागि सहअध्यक्ष पद सिर्जना गरेपछि उनी एकीकरणमा सकारात्मक भएकी हुन्। नाउपामा सुरुदेखि नै रेशम र रन्जिताबिच विवाद छ। केही समय पहिले यी दुई नेताबिचको विवाद सतहमै आएर झन्डै पार्टी विभाजनको अवस्थामा पुगेको थियो।
प्रतिनिधिसभामा जनमत पार्टीका एक प्रत्यक्ष निर्वाचितसहित ६ जना सदस्य र नाउपाका चार सदस्य छन्। पछिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनबाट जनमत राष्ट्रिय पार्टी बनेको हो। नाउपा भने राष्ट्रिय पार्टी बन्न सकेको छैन। जनमत र नाउपाबीच एकीकरणपछि यो तराई/मधेस केन्द्रित ठुलो दल हुनेछ।
प्रकाशित: ११ चैत्र २०८१ ०७:२२ सोमबार