१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रेस चौतारी महाधिवेशन : राजेशको पक्षमा हस्ताक्षर सङ्कलन

मातृ-पार्टी गणेशको पक्षमा

नेकपा (एमाले) निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतरी नेपालको १०औं महाधिवेशन कोशी प्रदेशको राजधानी विराटनगरमा जारी छ। नेतृत्व चयनका लागि आइतबार (आज) सुरु भएको महाधिवेशनमा राजेश राई र गणेश पाण्डे अध्यक्षका दाबेदार छन्। 

पाण्डेलाई मातृपार्टी एमालेले नै सर्वसम्मत रूपमा अध्यक्ष बनाउन खोजेको छ। उनलाई अध्यक्ष बनाउन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै मौखिक निर्देशन दिएका छन्। महाधिवेशनको उद्घाटन गरेका पार्टी महासचिव शंकर पोखरेलले पनि 'त्यस्तै भाषा' बोल्दै अध्यक्ष सर्वसम्मतिमा चयन गर्न निर्देश गरेका छन्।

तर, राई भने केही गरी पनि नछाड्ने पक्षमा छन्। उनले प्रतिनिधिहरूले आफ्नो नेतृत्व आफैँ चयन गर्न पाउने अधिकारका निम्ति आफ्नो अडान कायम रहेको बताएका छन्। 'मेरो उम्मेदवारी कायम छ। यसको जग नेतृत्वप्रतिको अगाध सम्मान र प्रतिनिधिहरूको गहिरो भावना हो। अरु सबै हल्ला हुन्,' उनले भनेका छन्।

यसअघि पार्टी महासचिव शंकर पोखरेलगायतका नेताहरूले राईसँग छुट्टै संवाद गरेका थिए। त्यस क्रममा पनि उनलाई त्यही भनिएको थियो। तर, राईले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका थिए।

उनले चुनाव नै भए पनि लड्ने अड्डी कसेका छन्। अहिले उनको पक्षमा हस्ताक्षर सङ्कलन हुँदैछ। महाधिवेशन स्थलबाट प्रेस चौतारीका एक नेताले भने, 'राजेशजीको पक्षमा हस्ताक्षर सङ्कलन हुँदैछ। सर्वसम्मतिमै भए पनि उहाँ नै हुनुपर्ने, यदि त्यसो नभए चुनाव नै हुनुपर्ने हाम्रो माग छ।'

त्यसो त यसअघि राईलाई नै अध्यक्ष बनाउने भनिएको थियो। त्यसमा ओलीसमेत सकारात्मक रहेका थिए। तर, चैत ६ गतेयता उनले पाण्डेलाई अध्यक्ष बनाउन चाहेको बताइन्छ। पाण्डे पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट मानिन्छ।

पाण्डे यसअघि पार्टीको प्रचार विभाग सचिवको जिम्मेवारीमा थिए। उनले गत चैत ८ गते प्रेस चौतरीको अध्यक्षको दाबेदार रहेको भन्दै राजीनामा दिएका थिए। गत फागुन १८ गते बसेको एमालेको ४५औं केन्द्रीय सचिवालय बैठकले नियुक्त गरेको पाण्डेले २० दिनमै राजीनामा दिएका हुन्।

प्रकाशित: १० चैत्र २०८१ १९:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App