२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

याक चौरी पाल्नेलाई ५० प्रतिशतसम्म अनुदान

अनुदानमा याक, चौरी र च्याङ्ग्रा प्रवर्द्धन कार्यक्रम सञ्चालन

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा याक, चौरी तथा च्याङ्ग्रा प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले वडा नम्बर ६ र ७ मा यो कार्यक्रम लागू गर्न लागेको जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईका अनुसार याक तथा चौरी प्रवर्द्धन कार्यक्रमका लागि १५ लाख रुपैयाँ र च्याङ्ग्रा प्रवर्द्धन कार्यक्रमका लागि ७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। विगत तीन वर्षभित्र यस्ता अनुदान प्राप्त गरिसकेका अनुदानग्राही भने यस कार्यक्रममा सहभागी हुन नपाउने स्पष्ट गरिएको छ।

५० प्रतिशत साझेदारीमा कार्यक्रम सञ्चालन गर्न इच्छुक डेरी, फर्म, डेरी उद्योग, समूह तथा सहकारीहरूले पुस २३ गतेसम्म गाउँपालिकामा आवेदन दिन सक्नेछन्। आवेदनका साथमा नागरिकताको प्रतिलिपि, जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि, जग्गा भाडामा लिएको भए करार सम्झौताको प्रतिलिपि, व्यवसाय/समूह/सहकारी दर्ता, नवीकरण तथा कर चुक्ता प्रमाणपत्र, स्व–घोषणा र प्रतिबद्धता पत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।

गाउँपालिकाले आफ्नो वार्षिक स्वीकृत कार्यक्रमअनुसार संघीय तथा प्रदेश सरकारबाट स्थानीय तहमा हस्तान्तरण भएको सशर्त वित्तीय पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम कार्यविधि–२०७८ अनुसार कार्यक्रम सञ्चालन गरिने जनाएको छ।

फक्ताङलुङ गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा याक, चौरी र च्याङ्ग्राको उत्पादन उल्लेख्य रहे पनि ती उत्पादनको उचित बजारीकरण हुन नसकेको वडा नम्बर ७ का वडाध्यक्ष छेतन वालुङ शेर्पाले बताए। स्थानीयले पालेका याक र चौरीबाट उत्पादित सामग्रीको बिक्री बजार नहुँदा दीगो जीविकोपार्जनमा समस्या आएको भन्दै उनले सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएका छन्।

यसैक्रममा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले तयार गरिरहेको पाँचौँ पञ्चवर्षीय योजनाको मस्यौदा तयारीका क्रममा पनि याक, चौरी र च्याङ्ग्रासहितका किसान तथा पशुपालकका लागि प्रभावकारी बजार व्यवस्थापन समेटिने गरी योजना बनाउन सुझाव दिइएको छ।

प्रकाशित: १० पुस २०८२ १७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App