समानुपातिकमा कुल सदर मतको ३ प्रतिशत भोट कटाएका तर प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ एक सिट पनि नल्याएका राजनीतिक दलहरूले पनि समानुपातिकतर्फ सिट सुविधा पाउँछन्। निर्वाचन आयोगका कानुन महाशाखाका सहसचिव यज्ञ भट्टराईका अनुसार राष्ट्रिय पार्टी हुन ३ प्रतिशत थ्रेस होल्ड कटाउनुपर्ने र प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ कम्तीमा एक सिट ल्याउनुपर्छ तर समानुपातिकको सिट ल्याउन प्रत्यक्ष तर्फ एक सिट नल्याए पनि ३ प्रतिशत मत ल्याए पुग्छ।
‘समानुपातिकतर्फ सिट पाउन राजनीतिक दलहरूले समानुपातिकमा कुल सदर मतको ३ प्रतिशत ल्याए पुग्छ तर राष्ट्रिय पार्टी हुन प्रत्यक्षतर्फ कम्तीमा १ सिट र ३ प्रतिशत थे्रेस होल्ड कटाएकै हुनुपर्छ,’ भट्टराईले प्रस्ट पारे। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा राष्ट्रिय पार्टी र समानुपातिकतर्फ सिट पाउने विषयमा व्यवस्था गरिएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ को दफा ६० को उपदफा (११) मा भनिएको छ, ‘यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको ३ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलका तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुनेछ।’ तर राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५२ मा भनिएको छ, ‘प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलका रूपमा मान्यता प्राप्त गर्नेछ।’
समानुपातिकबारे प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ मा गरिएको उक्त व्यवस्था एक पटक प्रयोगमा समेत आइसकेको छ। २०७९ सालमा सम्पन्न प्रदेशसभाको निर्वाचनमा बागमती प्रदेशसभामा हाम्रो नेपाली पार्टीले प्रत्यक्षतर्फ कुनै सिट जितेको थिएन। तर उक्त पार्टीले समानुपातिकतर्फ कुल सदर मतको १.५ प्रतिशत मत कटायो। त्यस आधारमा उक्त पार्टीले प्रदेश सभामा सिट पाएको थियो। प्रदेशसभामा समानुपातिकतर्फ थ्रेस होल्ड १ दशमलव ५ प्रतिशत कायम गरिएको छ। त्यस आधारमा उक्त पार्टीले १ दशमलव ५ प्रतिशत कटाए पनि समानुपातिक सुविधा पाएको हो।
निर्वाचन आयोगका अनुसार गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कुल खसेको मत ९६ लाख १५ हजार ५६८ हो। त्यसमध्ये सोमबार साँझसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४६ लाख ४२ हजार ४११ भोट ल्याएको छ। यसैगरी नेपाली कांग्रेसले १५ लाख ५७ हजार ७३७, नेकपा एमालेले १२ लाख ९९ हजार ३५६, नेपाली कम्युनिस्ट पार्टी ७ लाख ६५४, श्रम संस्कृति पार्टीले ३ लाख २८ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ५ हजार ९९२, जनता समाजवादी पार्टी नेपालले १ लाख ५१ हजार ७८४, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ४८ हजार ८६५ तथा जनमत पार्टीले ६८ हजार ११५ मत ल्याएको छ। सबैभन्दा कम भोट त्रिमूल नेपाल पार्टीले ल्याएको छ। उक्त पार्टीले सोमबार सा“झसम्म ५८४ मत ल्याएको छ।
हट्यो निर्वाचन आचार–संहिता
निर्वाचन आयोगले गत बिहीबार सम्पन्न निर्वाचनका लागि लागु गरिएको लगाएको अचारसंहिता सोमबार रातिदेखि लागु हुने गरी हटाएको छ। आयोगको सोमबार बसेको बैठकले सोमबार मध्यराति १२ बजेदेखि लागु हुने गरी आचारसंहिता लागु नरहने निर्णय गरेको आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। गत माघ ४ गते मध्यरातिदेखि लागु हुने गरी आचारसंहिता लागु गरिएको थियो।
प्रकाशित: २६ फाल्गुन २०८२ १०:०६ मंगलबार





