नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई लागेको रोगको उपचार श्रमजीवी जनताले मात्रै गर्न सक्ने बताएका छन्।
तराई-मधेश जागरण अभियानअन्तर्गतको शनिबार (आज) चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्।
'माओवादीलाई लागेको रोगको उपचार श्रमजीवी जनताले मात्रै गर्न सक्छन्। हिजो पनि जनताले नै पुर्याएका हुन्। कांग्रेस, एमाले वा कुनै राजा-महाराजाले सिंहदरबार पुर्याएका थिएनन्,' दाहालले भने।
दाहालले शान्ति प्रक्रियापछि माओवादीको आफ्नो वर्गसँगको दूरी बढेको स्वीकारे। 'आदिवासी जनजाति, पीडित, थारु, मजदुर, दलितकै काखमा हुर्कियौँ। शान्ति प्रक्रियापछि उत्पीडित वर्गसँगको दूरी बढ्यो र जनतामा फ्रस्टेसन पैदा भयो। त्यसपछि हामीले केन्द्रीय समिति बैठकमा गम्भीर समीक्षा गरेर फेरि जनतासँग जोडिने हो भनेर निर्णय गर्यौँ। जसअनुसार हामी अभियानमा छौँ,' उनले भने।
उनले थपे, 'हामी सच्चिन्छौँ, तपाईंहरूले साथ दिनुस्। अभियानका क्रममा माओवादीप्रति जनताका उत्साह, तरङ्ग र भरोसा बढिरहेको छ। यो हामीले घण्टौँपिच्छे त्यो अनुभूत गरिरहेका छौँ।'
उनले काठमाडौंमा बसेर जाली, फटाहाहरूको बीचमा बसेर गफ गर्नुभन्दा जनताको बीचमा बस्दा आनन्द अनुभूति आफूहरूले गरेको बताए।
प्रकाशित: ९ चैत्र २०८१ १५:०९ शनिबार





