खानेपानीमन्त्री प्रदीप यादवले शुद्ध पिउने पानी स्वस्थ जीवनको आधारभूत आवश्यकता भएको बताउँदै आगामी एक वर्षभित्र देशभरका ५७ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानी पुर्याउने लक्ष्य रहेको बताएका छन्।
काठमाडौँमा युएचएस होल्डिङ्सको सहभागितामा शुक्रबार भएको आइओन एक्सचेन्ज जेरोबी उत्पादन लन्च समारोहमा मन्त्री यादवले अहिले २७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्याउन सफल भएको र एक वर्षभित्र ५७ प्रतिशतमा विस्तार गर्ने योजना सुनाए। उनले भने, ‘शुद्ध पिउने पानी स्वस्थ जीवनको आधारभूत आवश्यकता हो। यसको अभावले सार्वजनिक स्वास्थ्य र समग्र विकासमा गम्भीर असर गर्छ।’
उनले खानेपानी मन्त्रालय नेपालका हरेक नागरिकलाई सुरक्षित, शुद्ध र स्वस्थ पिउने पानी उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए। अहिले ग्रामीण क्षेत्रका ९५ प्रतिशत र सहरी क्षेत्रका ९८ प्रतिशत जनसङ्ख्याले आधारभूत खानेपानी सेवा पाएको उनको भनाइ छ।
सरकारले सन् २०३० भित्र ‘सुरक्षित तथा स्वच्छ खानेपानी पहुँच’ हासिल गर्ने लक्ष्य राखेको छ। यो संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग पनि जोडिएको छ। उनले भने, ‘यो लक्ष्य पूरा गर्न निजी क्षेत्र, सरकारी निकाय र गैरसरकारी संस्थाहरूको सहकार्य जरुरी छ।’
दूषित पानीले टाइफाइड, डाइरिया, हेपाटाइटिस, हैजाजस्ता रोग फैलिरहेको उनले बताए। जलस्रोतको प्रदूषण, अव्यवस्थित ढल निकास र औद्योगिक फोहरले स्वच्छ पानीको उपलब्धतामा समस्या ल्याएको उनको भनाइ छ।
शुद्ध खानेपानी नागरिकको मौलिक अधिकार भएकोले सरकार, निजी क्षेत्र र नागरिक समाजले मिलेर यो सुनिश्चित गर्नुपर्ने उनले जोड दिए। जेरोबीजस्ता नयाँ प्रविधिको प्रयोगले सुरक्षित पिउने पानीको सुनिश्चितता गर्न सघाउने र सबै पक्ष मिलेर ‘स्वच्छ खानेपानी पहुँच’को लक्ष्य हासिल गर्न सकिने उनले बताए। रासस
प्रकाशित: ९ चैत्र २०८१ ०६:४१ शनिबार