९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

पर्यटनमन्त्री पाण्डे र कम्बोडियाली समकक्षीबीच भेटवार्ता

'बृहत्तर बुद्ध सर्किट, सिधा हवाई उडान र धार्मिक पर्यटन सञ्जाल निर्माणमा जोड'

कम्बोडिया भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल र कम्बोडियाबीच धार्मिक पर्यटकीय सञ्जाल निर्माण, सिधा हवाई उडान, बृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे छलफल गरेका छन्। कम्बोडियाका पर्यटनमन्त्री हुअट हाक र संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग मंगलबार भएको भेटका क्रममा पाण्डेले सो सम्भावनाबारे छलफल गरेका हुन्।

कम्बोडियाका पर्यटन र संस्कृति तथा धार्मिक मन्त्रालयमा भएको भेटवार्तामा उनले कम्बोडियामा उत्रने बित्तिकै नेपालमा जस्तै सडकका कुनाकुनामा गणेश भगवानका मूर्तिहरू देखेको उल्लेख गर्दै दुई देशबीच साझा तीर्थस्थल वा धार्मिक सञ्जाल निर्माणका लागि भविष्यमा सहकार्य गर्न सकिने विषयमा छलफल गरेका थिए।

भेटमा भगवान बुद्धको नेपालमा जन्म भए पनि कम्बोडियामा द्रुत रूपमा बुद्धधर्म विस्तार भएको आफूले पाएको उल्लेख गर्दै नेपाल र कम्बोडियाबीच सिधा हवाई उडान गर्न सके बुद्ध जन्मस्थलमा कम्बोडियाली धार्मिक पर्यटकले सहज भ्रमण गर्न सक्ने बताएका थिए। भेटवार्ताका क्रममा पाण्डेले नेपाल र कम्बोडियाको ऐतिहासिक सन्दर्भ र द्विपक्षीय पर्यटन सहयोगको महत्त्वलाई उल्लेख गर्दै भने, कम्बोडिया र नेपालका इतिहास र धर्म एक अर्कासँग गहिरो सम्बन्ध राख्छन्।

उनले नेपाल र कम्बोडिया युद्ध र संघर्षको अवस्थाबाट गुज्रिएको स्मरण गर्दै कम्बोडियाले द्वन्द्वपछिको विकासमा गरेको प्रगतिबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताएका थिए। नेपालका प्रमुख धार्मिक स्थलहरू जस्तै लुम्बिनी, मुक्तिनाथ र जानकी मन्दिर तथा कम्बोडियाको अङ्कुरवाट दुई देशका साझा सम्पदा र तीर्थस्थलको रूपमा रहेको उल्लेख गर्दै पाण्डेले भने, हाम्रो धार्मिक र सांस्कृतिक परिप्रेक्ष्यले समानता देखाउँछ, र हामीसँग एक समान धार्मिक सहिष्णुता र सद्भाव छ।

दुवै पक्षले धार्मिक र सांस्कृतिक पर्यटन साझेदारी वृद्धि गर्ने विषयमा छलफल गरेका छन्। नेपाल र कम्बोडियाबीच सिधा हवाई उडानको सुरुवात हुन सकेको अवस्थामा पर्यटकहरूको आवागमनमा ठूलो सुधार गर्न सकिने विषयमा दुवै पक्ष सहमत भएका छन्। यसका साथै, वृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे पनि छलफल भएको बताइएको छ। 

पाण्डेले कम्बोडियाको एशिया क्षेत्रको सबैभन्दा ठूलो विमानस्थल निर्माणको बारेमा चर्चा गर्दै भने, यो परियोजनाले नेपाल र कम्बोडियाबीचको भौतिक दूरीलाई छोटो बनाउँछ। उनले नेपालमा पनि भैरहवा र पोखरामा निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थलहरूमा उडान भर्ने वायुसेवा कम्पनीहरूलाई विशेष सहुलियतसहितको व्यवस्था पछि ती सञ्चालनमा आएको प्रसंग उल्लेख गरेका थिए।

कम्बोडियाली पक्षले नेपाललाई धन्यवाद दिँदै लुम्बिनीमा कम्बोडियाको स्तूपा निर्माणका लागि स्थान उपलब्ध गराएकोमा आभार व्यक्त गरेका छन्। साथै, नेपाल र कम्बोडियाबीच द्विपक्षीय सहयोगका क्षेत्र र कार्यसम्पादन मोडालिटीको पहिचानका लागि राजदूत र कर्मचारीस्तरीय टोली गठनको आवश्यकतामा जोड दिएका छन्।

कम्बोडियाले २०२४ मा ७२ लाख अन्तर्राष्ट्रिय पर्यटकको आगमनको अपेक्षा गरेको जानकारी दिएको छ। पर्यटन क्षेत्रको पुनर्निर्माण र समृद्धिका लागि युएन टुरिजमको बृहत्तर छाता अन्तर्गत सहकार्यका लागि कम्बोडिया इच्छुक रहेको जनाइएको छ। अन्त्यमा, कम्बोडियाले धार्मिक र सांस्कृतिक सहयोगका लागि नेपालसँग अझ नजिकको सहकार्यमा प्रवेश गर्ने प्रतिबद्धता जनाएको छ। यो भेटघाटले दुवै राष्ट्रबीचको सम्बन्धलाई अझ मजबुत बनाउनका लागि नयाँ दिशा खोल्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ६ चैत्र २०८१ १२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App