नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले 'भाइमारा, मूर्ति चोर'हरूको चुरीफुरी बढेको अभिव्यक्ति दिएका छन्।
शुक्रबार (आज) सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्।
'२५० वर्षमा यो देशलाई राजा-महाराजाहरूले कहाँ पुर्याए ? नेपाली जनताले बिर्सेका छन् ? मूर्ति चोर को हुन् ? नेपालका ठूला-ठूला मूर्ति चोरहरू अहिले राजा ! भाइमारा को हो ? भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्से भन्ठानेको ?,' दाहालले भने।
उनले सम्भव नभए पनि यसबीचमा दुस्साहस गरिएको बताए। 'त्यो दुस्साहसलाई हामीले भनेका छौँ, इटको जवाफ पत्थरले दिन माओवादी केन्द्र तयार छ, समाजवादी र गणतन्त्रवादी तयार छन्।'
आफू पहिलोपटक प्रधानमन्त्री बन्दा दरबार हत्याकाण्डबारे छानबिन गर्ने भनेको तर, समय नभएको उनले बताए। 'मैले त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए फेरि एकपटक छानबिन गरेर भाइमारा र राजद्रोही; यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो। अहिले चुरीफुरी गरेका छन्। एउटा मूर्खता पहिल्यै भइसकेको छ, अब फेरि अर्को मूर्खता भयो भने नेपाली जनता र दलहरूले क्षमा गर्ने छैनन्,' उनले भने।
उनले थपे, 'त्यत्रो ठूलो दरबार हत्याकाण्ड गर्ने त परिवारभित्रै थिए नि, उनकै परिवारभित्र। सबैले बुझेका छन् नि नेपाली जनताले, को हो मुख्य त्यसको प्लानर ? त्यसको मास्टरप्लानर को हो भन्ने जनताले बुझेका छन्।'
प्रकाशित: १ चैत्र २०८१ १७:१२ शुक्रबार