नेकपा (माओवादी केन्द्र) ले तराई-मधेश जागरण अभियान स्थगित गर्दै पार्टी सचिवालय बैठक बोलाएको छ। अध्यक्ष पुष्पकमल दाहालले सोमबार बिहान सचिवालय बैठक बस्ने जानकारी दिएका छन्।
माओवादीले केही दिनअघि मात्र तराई-मधेश केन्द्रित अभियान सञ्चालन गरिरहेको थियो। तर, पछिल्लो समय राजावादीहरूको गतिविधि तीव्र भएपछि पार्टीले अभियान रोकेर राजधानीमा रणनीतिक छलफल गर्ने निर्णय गरेको हो।
माओवादी नेताहरूले समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा गर्दै आगामी योजना तय गर्न बैठक बोलाइएको बताएका छन्।
बैठक आइतबार बस्ने तयारी थियो। तर, नारायणकाजी श्रेष्ठसहितका केही शीर्ष नेताहरू काठमाडौं बाहिर रहेकाले बैठक सोमबारका लागि सारिएको हो।
यसअघि, पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै पार्टीको जागरण अभियान जनतामाझ सकारात्मक रूपमा प्रस्तुत भइरहेको दाबी गरेका थिए।
उनले माओवादी नेतृत्वको सरकार असंवैधानिक रूपमा हटाइएकाले जनताले त्यो वास्तविकता बुझेको भन्दै अभियानले माओवादीप्रतिको विश्वास पुनः सुदृढ भएको बताए।
माओवादीले हुलाकी राजमार्ग आसपासको क्षेत्रमा गरेको अभियानले पार्टीप्रति आकर्षण बढाएको दाबी गर्दै दाहालले पार्टीलाई थप जनमुखी बनाउन रणनीतिक रूपमा अघि बढ्ने बताए।
बैठकमा यही अभियानसहित संसद् र स्ववियु निर्वाचनका विषयमा समेत छलफल हुने माओवादीले जनाएको छ।
प्रकाशित: २५ फाल्गुन २०८१ १६:३६ आइतबार





