सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्व राजा ज्ञानेन्द्र शाह र उनको परिवार अन्य देशमा भएको भए यति बेला जेलमा हुने टिप्पणी गरेका छन्। शुक्रवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेपछि बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्।
‘यो मुलुक त धेरै उदार लोकतन्त्र भएको मुलुक हो,’ मन्त्री गुरुङले भने, ‘अरू मुलुक जस्तो भएको भए ३० वर्षसम्म अझ भनौँ २४० वर्षसम्म मुलुकलाई शोषण गर्ने, शासन गर्ने, जनतालाई दुःख दिने त्यस्तो राजसंस्था, परिवार र त्यस्तो व्यक्तिहरूलाई त्यो शासन प्रणाली उल्टिएर नयाँ व्यवस्था आइसकेपछि ती सबै जेलमा बस्नुपर्ने हो । तिनका सम्पत्ति राज्यले हरण गर्नुपर्ने हो।’
‘दुनियाँमा त्यही छैन इतिहास?’ भन्दै उनले प्रश्न गरे। तर, नेपालमा भने पूर्व राजा शाह र उनको परिवारलाई ससम्मान नागार्जुन दरबारमा राखेको उनले बताए। उनले भने, ‘सुरक्षाको प्रबन्ध गरेर, हिजै राजा महाराजाहरूले समर प्यालेसका रूपमा स्थापना गरेको नागार्जुन दरबारमा राखेका छौँ।’
यसरी उदार भएर सम्मान दिएर राख्ने व्यवस्थाप्रति कटाक्ष नगर्न पूर्व राजालाई मन्त्री गुरुङले चेतावनी दिए। ‘त्यस्तो प्रबन्ध गर्ने राजनीतिक दलहरूलाई कटाक्ष गर्दै म फेरि फर्कन्छु भनेर जुन खालका हर्कत गरिरहेका छन्, यो चाहिँ उसले आफ्नो हैसियत भुलेको हो। हामीले गरेको उदार प्रबन्धलाई उसले बिर्सेको हो,’ मन्त्री गुरुङले भने।
उनले पूर्व राजाका पक्षमा सडकमा नारा लगाउनेहरूलाई पनि मूर्खता नदेखाउन आग्रह गरे । ‘राजाले कसरी देश बचाउँछ ? दुनियाँमा कुन देशमा राजाले देश बचाएको छ?,’ उनले भने,‘आफ्नो ज्यानको रक्षा गर्न नसक्ने राजा, आफ्नो दरबारको रक्षा गर्न नसक्ने त्यो राजतन्त्र र आफ्नो परिवारको रक्षा गर्न नसक्ने त्यो राजसंस्थाले देश बचाउने ?’
आजको दिनमा सबै कानुन हातमा लिएको, जहाँ मेरिटोक्रेसीको कुनै गुञ्जायस नहुने र एउटा कुलमा जन्मिएकै कारण उसले तीन करोड जनतामध्ये सबैभन्दा योग्य मानेर त्यसको शासन हुने व्यवस्थाको कल्पना समेत गर्न नसकिने मन्त्री गुरुङले बताए।
‘यस्तो वकालत गर्दै हिँड्नेहरू लोकतन्त्र मान्ने हुन कि नमान्ने हुन् ? साथीहरूलाई भन्न चाहन्छु यस्तो मूर्खता नगर्नुस्,’ मन्त्री गुरुङले भने।
प्रकाशित: २३ फाल्गुन २०८१ १६:१४ शुक्रबार