४ चैत्र २०८१ सोमबार
image/svg+xml ८:५१ पूर्वाह्न
राजनीति

विस्मृतिमा निधि

व्यक्तित्व

‘जहानियाँ राणाशासन र एकदलीय पञ्चायत मात्र होइन, रुढीवादी, पछौटेपन तथा कुसंस्कारबाट मुक्त गरी नेपाली समाजलाई परिवर्तनको उज्यालो मार्गमा अघि बढाउन निधिजी (महेन्द्रनारायण निधि)ले खेल्नुभएको भूमिका सदैव अनुकरणीय छ,’ राष्ट्रपति रामचन्द्र पौडेलले फागुन १३ गते शीतल निवासमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिको अंश हो यो।

१९७८ फागुन १३ गते धनुषाको नगराइन गाउँमा निधिको जन्म भएको थियो। वैचारिक दृष्टिले बिपी कोइराला र राममनोहर लोहियाबाट प्रभावित उनै निधिको १०३औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा पौडेलले यस्तो विचार व्यक्त गरेका हुन्।

महेन्द्रनारायण निधिजस्ता नेताहरूको लोकतन्त्रप्रतिको निरन्तर संघर्ष, त्याग र निष्ठाले नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको राष्ट्रपति पौडेलले बताए।

 निधिजीका आदर्श राजनीति, सिद्धान्तप्रतिको निष्ठा तथा सादगी जीवनशैली प्रेरणादायी भएको बताउँदै पौडेलले पाँच दशक अहिंसा, शान्ति, लोकतन्त्र र सर्वसाधारण नागरिकसँग रहेर समुदायबिच सद्भाव तथा सामाजिक न्यायका पक्षमा उभिएको स्मरण गरे। निधि सबैका लागि सधैं प्रेरणाको स्रोतका रूपमा रहिरहने बताउँदै उनले भने, ‘राजनीतिक जीवनका अनेकौं उतारचढावका दिनमा मैले निधिजीलाई अत्यन्त धैर्यवान, सरल, सादगी नेताका रूपमा चिन्ने र बुझ्ने मौका पाएको छु।’

महात्मा गान्धीको कार्यशैलीबाट प्रभावित नेताका रूपमा चिनिने निधि शान्ति र अहिंसाका पक्षपाती नेता हुन्। नेपाली कांग्रेसका संस्थापक नेतामध्ये एक निधि निरंकुश राणातन्त्रविरुद्ध जनकपुर कमान्डका मुख्य व्यक्ति थिए। १०४ वर्ष लामो राणा शासनको अन्त्यसँगै २००७ सालमा प्रजातन्त्र स्थापना भयो।

बिपी कोइराला, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहसहितका नेताको छायामा निधि परे। २०१५ सालमा पहिलो आम निर्वाचनपछि उनी प्रतिनिधिसभाको उपसभामुखको जिम्मेवारीमा पुगे। उपसभामुखको जिम्मेवारीले उनको सक्रिय राजनीतिलाई कमजोर बनाउँदै लगेको थियो।

त्यहीबिच २०१७ पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकार र संसद् विघटन गरेर आफ्नो हातमा सत्ता लिए। त्यसविरुद्ध निधि तीन दशकसम्म अहिंसाको बाटोबाट प्रजातन्त्र पुनःस्थापनाका लागि निरन्तर संघर्ष गरिरहे। सत्ता र शक्तिप्रति कम आकांक्षी निधि गीतामा भनेजस्तै कर्म गर फलको आशा नगर भन्ने नीतिमा रहे। २०४६ सालमा भएको शान्तिपूर्ण आन्दोलनसँग राजा झुके। तत्कालीन राजा वीरेन्द्रले बहुदलीय व्यवस्थासहित प्रजातन्त्र पुनःस्थापनाको घोषणा गरे।

त्यसपछि उनको अभियान फेरियो। २०४८ सालमा भएको आम निर्वाचनपछि प्रधानमन्त्रीका रूपमा निधिको नाम चर्चामा आयो। तर, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने। कांग्रेसभित्र सत्ता र शक्तिको लडाइँ चल्दै जाँदा सक्रिय राजनीतिबाट बिस्तारै टाढिएका निधिको २०५६ साल वैशाखमा निधन भयो।

कांग्रेस र प्रजातन्त्रका लागि उनै निधिले जीवन दिए। तर, उनको १०३ औं जन्मजयन्तीमा कांग्रेसले सामान्य कार्यक्रम गरेर उनको स्मरण समेत गरेन। निधिसहितका अघिल्लो पुस्ताका नेताले तराई/मधेसलाई नै आधार बनाएर राणा र पञ्चायतविरुद्धको मोर्चा उठाएका थिए। तर त्यही भूमिबाट उदायका नेता निधिको स्मरण उनकै नाममा स्थापना भएको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले मात्र गर्‍यो। शीतल निवासमा आयोजित कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनमा समर्पित भएको भन्दै नरेन्द्रप्रसाद मिश्र र शमा शाहीलाई सम्मानसहित पुरस्कृत गरे।

स्थानीय निकायको निर्वाचनमा दलविहीन प्रतिस्पर्धा हुनुपर्छ भन्दै २०५४ वैशाख ३० गते विज्ञप्ति नै निकालेका निधिले पटक पटक कांग्रेसका बैठकमा गाउँ गाउँमा दलीय राजनीतिक अभ्यास गर्नुहुँदैन भन्ने मान्यतासहितको अवधारणा पेस गरेका थिए। स्थानीय सरकार अर्थात् गाउँमा दलीय राजनीतिक अभ्यासले लोकतान्त्रिक शासन व्यवस्थालाई कमजोर बनाउँछ भन्ने उनको बुझाइ थियो।

कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा निधिको महत्त्वपूर्ण योगदान रहेको स्मरण गरे। उनको जन्मजयन्तीका दिन धनुषा कांग्रेसले आयोजना गरेको कार्यक्रममा कोइरालाले निधिको व्यक्तित्व, योगदान, मधेसका नेताको राजनीतिक उचाइदेखि वर्तमानको राजनीतिक उपलब्धिसम्मलाई समेट्ने गरी थप अनुसन्धान हुनु आवश्यक रहेको औंल्याए। निधिको जीवनी र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानका विषयमा पछिल्लो पुस्तालाई जानकारी नै नभएको र पार्टीका नेताले समेत बिर्संदै गएको उनको बुझाइ छ।

२००७ सालको क्रान्तिमा मुक्ति सेनाले जनकपुर क्षेत्र कब्जा गरिसकेपछि कमान्डर रुद्रप्रसाद गिरी त्यस क्षेत्रको गभर्नर र निधि जनसरकारका प्रधानमन्त्री नियुक्त भएका थिए। २००८ सालमा निधिकै पहलमा महोत्तरीमा कांग्रेस जिल्ला कार्यसमिति गठन भएको थियो। जिल्ला सभापतिको भूमिकामा रहेका निधिकै अग्रसरतामा २००९ सालमा जनकपुरमा भएको कांग्रेस महाधिवेशनबाट बिपी कोइरालालाई निर्विरोध पार्टी सभापति बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कांग्रेस नेताहरू बताउँछन्। तर, कांग्रेसमा अहिले अघिल्ला पुस्ताका नेता बिराना बन्दै गएका छन्।  

प्रकाशित: १७ फाल्गुन २०८१ ०८:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App