उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहना पूर्वाधार विकास भएको भन्दै विकास निर्माणमा दलहरु मिलेर काम गर्नुपर्ने बताएका छन्।
शहरी विकास मन्त्रालय अन्तर्गतको सघन शहरी विकास कार्यक्रमअन्तर्गत कञ्चनपुर बेलौरी नगरपालिकामा एकीकृत शहरी विकास कार्यक्रमका विभिन्न योजना उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले पूर्वाधार विकासका कामहरु गरेर जनतालाई सेवासुविधा दिनुपर्नेमा आफ्नो जोड रहेको बताए।
उनले राजनीतिक व्यवस्था बदल्ने आन्दोलनमा सबै दलहरु मिलेको चर्चा गर्दै विकास निर्माणका काममा पनि दलबीच एकता जरुरी रहेको धारणा राखे। ‘जनताले सेवा सहज होस् भन्ने चाहेको छ । स्थानीय, प्रदेश र संघ सबै तहका सरकारले पूर्वाधार विकासमा काम गर्नुप¥यो भन्ने जनचाहना छ ,’ उपप्रधानमन्त्री सिंहले भने,‘ विकास निर्माणका काममा हामीले फराकिलो भएर सोच्नुपर्छ भन्ने मलाई लागेको छ । चुनावको बेलामा पार्टीहरुले आफ्नो एजेण्डा अलग्गै लिएर जनतामा गए पनि विकासका काममा सबै दलहरु मिलेर काम गर्नुपर्छ । मिलेर काम गर्ने संस्कृतिको विकास गर्नुपर्छ ।’
उनले विकासका लागि राजनीतिक स्थिरता आवश्यक पर्ने भएकैले अहिले नेपाली कांग्रेस र नेकपा एमालेसहित अरु दलहरुलाई पनि मिलाएर सरकार बनेको बताए। त्यस्तै, उपप्रधानमन्त्री सिंहले सरकारले बजेट बनाउँदा जनताको आवश्यक्ताको प्राथमिकिकरणका आाधरमा योजनाहरु बनाउने पनि बताए।
संविधानले दिएका अधिकार सबैले बराबरी रुपमा उपभोग गर्न पाउनुपर्ने भन्दै उहाँले लामो संघर्षबाट प्राप्त अधिकारहरुलाई सुरक्षित गर्न आवश्यक कानूनहरु बनाउन सरकार लागिरहेको जानकारी दिए। अधिकार सँगसँगै जिम्मेवारी विर्सन नहुनेमा पनि सिंहले बताए। उनले वर्तमान सरकार आर्थीक समृद्धि र विकासमा केन्द्रीत भइरहेको भन्दै सरकारले नागरिकको चाहनाअनुसार काम गर्नेमा ढुक्क हुन आग्रह गरे।
प्रकाशित: १५ फाल्गुन २०८१ १८:०५ बिहीबार





