मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अपराध अनुसन्धान पद्धतिलाई गुणस्तरीय, प्रभावकारी र परिणाममुखी बनाउन आधुनिक प्रविधिको अधिकतम उपयोग गरिनुपर्ने बताएका छन्।
नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग एवम् मधेस प्रहरी कार्यालय जनकपुरधामद्वारा मंगलबार यहाँ आयोजित अपराध अनुसन्धानसम्बन्धी समस्या र समाधान विषयक प्रदेशस्तरीय समीक्षा गोष्ठीमा उनले अपराध अनुसन्धानको सूक्ष्मता, सघनता, तीव्रता र तटस्थताबाट मात्र सही न्याय निरूपणका लागि ठोस तथा निश्चयात्मक आधार तय हुने हुँदा प्रहरीले अनुसन्धान पद्धतिलाई आवश्यकताअनुसार वैज्ञानिक बनाउँदै जानुपर्ने औंल्याए।

उनले समय क्रमसँगै अपराधका प्रकृति र आयाममा बदलाव आउँदै गएको र यसले अनुसन्धान कार्यलाई निकै जटिल बनाएको हुँदा अनुसन्धान कार्यमा उपलब्ध प्रविधिको उपयोगबाट सही विश्लेषण प्राप्त हुनेगरी प्रहरी जनशक्तिलाई दक्ष बनाउनुपर्ने उल्लेख गरे।
उनले अनुसन्धानमा चुक हुँदा निर्दोष व्यक्तिले सजाय पाउने तथा दोषीले उन्मुक्ति पाउने दुर्भाग्यपूर्ण अवस्था निम्तिने जोखिम रहेको भन्दै त्यस स्थितिबाट पार पाउन अपराध अनुसन्धानका लागि कानुनद्वारा निर्धारित नेपाल प्रहरीलाई थप सशक्त बनाउनुपर्ने बताए।
मुख्यमन्त्री सिंहले भने, “प्रदेश सरकार प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन प्रतिबद्ध छ।”
शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न नेपाल प्रहरीका लागि निर्धारित भूमिकालाई अझ बलियो, विस्तारित र सक्षम बनाउन प्रदेश सरकारको संवैधानिक दायित्व नै भएको चर्चा गर्दै उनले मधेस प्रदेशका आठ वटै जिल्लामा भइरहेका अपराधका अनुसन्धान प्रक्रियाका बारेमा गहन विमर्श गरी विद्यमान कमीकमजोरी हटाउन मजबुत प्रयास हुनुपर्ने बताए।
उनले भने, “सबै जिल्लाका अपराधसम्बन्धी तथ्याङ्क एक ठाउँमा ल्याउनुस्, तिनमा भएका अनुसन्धानका सबै पाटा केलाउनुस् अनि प्रगतिमा देखिएका चुनौतीलाई सामना गर्न कार्यनीति बनाउनुस्। यसले प्रहरी संगठनको कार्य र छवि दुवै अब्बल हुनेछन्।”
प्रकाशित: १३ फाल्गुन २०८१ १९:४६ मंगलबार





