कोशी प्रदेशसभा बैठकमा राप्रपाकी सांसद सविना बजगाईंले प्रयोग गरेको राजा शब्द रेकर्डबाट हटाइएको छ ।
सांसद वजगाईंले राजा शब्द प्रयोग गरेको भन्दै नेकपा (माओवादी केन्द्र)का सांसद गोम्बु शेर्पाले नियमापत्ति गरेपछि उक्त शब्द रेकर्डबाट हटाउन सभामुख अमम्बरबहादुर विष्टले रुलिङ गरेका हुन् ।
आइतबारको प्रदेशसभा बैठकको शुन्य समयमा राप्रपाकी सांसद वजगाईंले राजाले प्रजातन्त्र दिवसमा जनतालाई शुभकामना दिएको विषयमा केहि नेताहरूले राजालाई थुन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएकी थिइन् । उनले विदेशबाट आएको डलरको भरमा यस्ता अभिव्यक्ति आएको र हिम्मत भए थुनेर देखाउन चुनौति समेत दिएकी थिइन् ।
बजगाईंले भनिन्, ‘राजाले प्रजातन्त्र दिवसमा जनतालाई शुभकामना दिएको विषयमा केहि नेताहरूले राजालाई थुन्ने अभिव्यक्ति दिएको विषयको भत्सना गर्दछु । विदेशबाट आएको डलरको भरमा यस्ता अभिव्यक्ति आएकाले हिम्मत भए थुनेर देखाउनुस् ।’
सांसद बजगाईंले आफ्ना कुरा राखेपछि नेकपा (एमाले)का प्रमुख सचेतक विदुकुमार लिंथेप उठेपछि सभामुखले वोल्न समय दिएका थिए । प्रमुख सचेतक लिंथेपले राजाले वोलेको विषयमा डलर खानेहरू भनेर अप्रमाणित विषय सदनमा वोलेको भन्दै प्रमाण भए पेश गर्न नभए उक्त आरोप फिर्ता लिन चेतावनी दिए । उनले विदेशबाट आएको डलरका भरमा नेताहरूले अभिव्यक्ति दिएको आरोप प्रमाणित गर्न चुनौति दिएका थिए ।
त्यसपछि प्रदेशसभामा सांसदहरूवीच केहिबेर सवाल जवाफ चलेको थियो । सभामुख विष्टले सांसदहरूको सवालजवाफ सुनेपछि डलर खाएर नेताहरूले अभिव्यक्ति दिएको विषय प्रमाणित नभएको भन्दै उक्त शब्द पनि रेकर्डबाट हटाउन रुलिङ गरेका थिए ।
प्रकाशित: ११ फाल्गुन २०८१ २०:०७ आइतबार