२४ चैत्र २०८१ आइतबार
image/svg+xml २१:८ अपराह्न
राजनीति

प्रधानमन्त्रीको भारत भ्रमण कहिले ? परराष्ट्र मन्त्रीको आशा असारसम्म !

कार्यभार सम्हालेको सात महिना बितिसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण हुन सकेको छैन। यसअघिका प्रधानमन्त्रीले पद सम्हाले लगत्तै भारत भ्रमणको निम्तो आउँथ्यो, सोही अनुरूप भारत भ्रमण हुन्थ्यो। अधिकांश अवस्थामा हरेक जसो नेपाली प्रधानमन्त्रीको पहिलो विदेश भ्रमणको गन्तव्य पनि भारत नै हुने गरेको छ।

यस पटक प्रधानमन्त्री ओलीलाई हालसम्म भारतले निम्त्याएको छैन। जसबारे अनेक टीकाटिप्पणी हुने गरेको छ। 

नेपाली कांग्रेस र नेकपा एमालेबिच गत असार १७ गते भएको ७ बुँदे सहमतिअनुसार असार ३० गते ओली प्रधानमन्त्री नियुक्त भएका थिए। त्यसपछि पहिलो विदेश भ्रमणका रूपमा उनले भारत नै जान चाहेका थिए।

तर निम्तो नआएपछि उनी संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभाका लागि अमेरिका गए। त्यहाँ परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको समन्वयमा भारतीय प्रधानमन्त्री र नेपाली प्रधानमन्त्री ओलीबिच ‘साइडलाइन भेटवार्ता’ भएको थियो। 

त्यसपछि पनि मंसिरसम्म कुर्दा भारतले ओलीलाई आमन्त्रण गरेन। त्यसपछि प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा गएका थिए। जहाँ चीनको महत्त्वाकाङ्क्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ(बिआरआई) फ्रेमवर्कमा हस्ताक्षर भयो।

चीनबाट फर्किएका प्रधानमन्त्री ओलीले मंसिर २३ गते झापा पुगेर आफू चाँडै भारत भ्रमणमा जाने बताएका थिए। प्रधानमन्त्री ओलीले त्यसको भनेको पनि ३ महिना बित्न लागेको छ। 

यता ओली सरकारमा परराष्ट्र मन्त्री बनेकी राणाले दुई पटक भारत भ्रमण गइसकेकी छन्। पहिलो पटकको भारत भ्रमणमा प्रधानमन्त्री माेदीले नै महत्व दिएर भेटवार्ता गरेका थिए। जसमा भारतले परराष्ट्र मन्त्री राणालाई दिएको सम्मानको खुबै चर्चा पनि भएको थियो। 

परराष्ट्र मन्त्री राणाले प्रधानमन्त्रीको भारत भ्रमणका लागि लामो समयदेखि वातावरण बनाउन कोसिस गरिरहेकी छन्। तर, सम्भव भएको छैन। 

यसैबीचमा परराष्ट्र मन्त्री राणाले शनिवार भारतीय सञ्चारमाध्यम ‘द हिन्दु’सँग कुरा गर्दै प्रधानमन्त्री ओलीको भारत भ्रमणको सम्भावनाबारे कुरा गरेकी छन्।  हिन्दुले छापेको समाचार अनुसार उनले ‘प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि निमन्त्रणाको पर्खाइ रहेको’ बताएकी छन्। 

यस्तोमा उनले सन् २०२५ को पहिलो छ महिना(जुन)भित्र प्रधानमन्त्री ओलीको भारत भ्रमण सम्भव हुने बताएकी छन्। त्यो भनेको मध्य असारसम्मको समय हो । 

यस्तै परराष्ट्र मन्त्री राणाले आगामी अप्रिलमा थाइल्यान्डको बैंककमा हुने बिमस्टेक शिखर सम्मेलनको अवसरमा ओली–मोदीबिच साइडलाइन भेटवार्ता हुने अपेक्षा पनि गरेकी छन्।  

हिन्दुले नेपाली प्रधानमन्त्री ओलीलाई भारतले भ्रमणका लागि निमन्त्रणा दिनमा असामान्य ढिलाइ गरेको भन्दै त्यसले ‘दिल्ली र काठमाडौँबिचको सम्बन्धमा तनावको सङ्केत मिल्ने’ लेखेको छ। ‘भारतको ढिलाइको आभाष भइरहेका बेला ओली चीन भ्रमणमा गए, त्यसबाट दुई देशबिचको मतभेद अझै बढेको मानिएको छ’, हिन्दुले लेखेको छ। 

प्रकाशित: ११ फाल्गुन २०८१ १८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App