नेपाली कांग्रेसले आफ्ना कामबारे जानकारी दिन सातै प्रदेशमा अभियान सञ्चालन गर्ने भएको छ ।
सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर बिश्वकर्माले सबै प्रदेश राजधानीमा राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान सञ्चालन गर्ने जानकारी दिए । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यक्रममा कांगेसका सम्बन्धित प्रदेशका केन्द्रीय पदाधिकारी एवं सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, प्रदेश सभाका माननीय सदस्यहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा प्रचार विभागका प्रमुख एवं प्रवक्ताहरू, क्षेत्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू र भ्रातृ तथा शुभेच्छुक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू र प्रेस युनियन लगायत विभिन्न सञ्चार कर्ममा आबद्ध सञ्चारकर्मीहरूको सहभागिता रहनेछ भने यसमा दुई वटा कार्यपत्र प्रस्तुत हुने छ ।’
विश्वकर्माका अनुसार, कोशीको विराटनगरमा फागुन ९ गते, मधेसको जनकपुरमा फागुन १० गते, गण्डकीको पोखरामा फागुन १७ गते, लुम्बिनीको बुटवलमा फागुन १८ गते, कर्णालीको सुर्खेतमा फागुन २० गते र सुदूरपश्चिम प्रदेशको धनगढीमा फागुन २१ गते कार्यक्रम आयोजना हुनेछ ।
कांग्रेसले गरेका सकारात्मक काम तथा त्यसबाट देशमा भएका परिवर्तनबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: ६ फाल्गुन २०८१ १८:५६ मंगलबार