प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकारले कायम गरिएको भनिएको विश्वविद्यालयमा मेरिटोक्रेसीबारे प्रश्न उठाएका छन्। आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा माओवादी केन्द्रका सांसद वर्षमान पुनको प्रश्नको उत्तर दिँदै उल्टै प्रतिप्रश्न गरेका हुन्।
माओवादी केन्द्रका उपमहासचिव समेत रहेका सांसद पुनले विगत सरकार(दाहाल नेतृत्वको सरकार)ले ‘विश्वविद्यालय संस्थान आदिमा कायम गरेको मेरिटोक्रेसीप्रति वर्तमान सरकारले ध्यान नदिएको, दलीय करण र हस्तक्षेप गरेको तथा ती निकायहरूमा व्यवसायीक दक्षताका आधारमा काम गर्न नदिएको देखिन्छ’ भन्दै आरोप लगाएका थिए। ‘सरकारले त्यसलाई सुधार्न के कस्तो योजना बनाएको छ ?’ भन्ने प्रश्न पुनको थियो।
सो प्रश्नको उत्तरमा प्रधानमन्त्री ओली निकै खरो उत्रिए ।
‘मेरिटोक्रेसी आलंकारिक भाषणको विषय होइन, शब्दको राम्रो पोसाक लगाएर मेरिटोक्रेसी हुने भए आज विश्वविद्यालयमा जे भइरहेको छ, त्यस्तो हुन्थ्यो र?,’ प्रधानमन्त्री ओलीले भने, ‘बाहिर शब्दको राम्रो पोसाक लगाउने र भित्र अर्कै गर्ने भइरहेको थियो। आज त्यसको परिणाम विश्वविद्यालय र हाम्रा संस्थाले भोगिरहेका छन्।’
अहिलेको सरकार त्यस्ता संस्थामा व्यावसायिक दक्षतालाई मुख्य योग्यता बनाउने गरी काम अगाडि बढाइरहेको प्रधानमन्त्री ओलीले दाबी गरे । अघिल्लो सरकारले कायम गरेको भनिएको मेरिटोक्रेसीप्रति प्रधानमन्त्री ओली निर्मम प्रस्तुत भए। उनले अगाडि भने, ‘मेरिटोक्रेसी खास गरी धेरै हल्ला चलेको विषय त्रिभुवन विश्वविद्यालयको उपकुलपछिको छनोटको विषयमा थियो। मेरिटोक्रेसी त त्यति बेलै देखिएको हो, प्रथम अङ्क प्राप्त गर्नेलाई मेरिटोक्रेसीमा नदिएर द्वितीय अङ्क, तृतीय अङ्क प्राप्त गर्नेलाई अगाडि सारेकोबाटै मेरिटाक्रेसी प्रस्ट भएन र ?’
‘मेरिटोक्रेसीको नगरा बजाइयो, धिमे बजाइयो, केके बाजा छन्, पञ्चेबाजा बजाइयो, धूमधाम मनाइयो, मेरिटोक्रेसी भनियो,’ प्रधानमन्त्री ओलीले अगाडि भने, ‘भरे त फर्स्ट हुने आउट, सेकेन्ड हुने इन । त्यही हो त मेरिटोक्रेसी ?’
त्यस कारण गजबको मेरिटोक्रेसी थियो त्यो, अहिले त्यो मेरिटोक्रेसी भनेको होइन। मेरिटको आधारमा हुनुपर्छ भनिएको प्रधानमन्त्री ओलीले बताए।
प्रकाशित: ४ फाल्गुन २०८१ १५:०५ आइतबार