नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई लक्षित गर्दै ‘युवा जर्नेलहरू’ देश बन्दै छ भन्दै भ्रम छरिरहेको टिप्पणी गरेका छन्। शनिवार पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले यस्तो टिप्पणी गरेका हुन्।
‘अहिले आर्थिक स्थिति सुध्रिँदै छ, देश बन्दै छ भनेर त्यो बताउनका लागि एउटा पल्टन लाग्या छ। सत्ताधारीहरूको पल्टन लाग्या छ,’ भुसालले भने, ‘रमाइलो के छ भने त्यसमा नयाँ नयाँ भनिएका जर्नेलहरू पनि पछाडिपछाडि लागेका छन्। र, देश बन्दै छ बन्दै छ भन्ने एउटा हल्ला चलाउँदै छन्।’
उनले प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा रहेकाले देश बन्दै छ भनेर व्यङ्ग्य पनि गरे । ‘देश बन्दै छ रे ! किनभने ओलीजी बालुवाटारमा हुनुहुन्छ। देश बन्दै छ रे किनभने देउवाजी बालुवाटारको लाइनमा हुनुहुन्छ। त्यो भन्दा कुनै अर्को तर्क छैन,’ भुसालले भने।
यो मुलुकले जसरी आर्थिक, सामाजिक रूपान्तरणको बाटो लिनुपर्नेमा त्यो नभएको उनले बताए। ‘खास गरी गणतन्त्र पछाडि, खास गरी संविधान निर्माण पछाडि र अझ खास गरी बिचमा नेकपा एमाले र माओवादीको एकीकरणपछाडि बनेको एउटा विराट क्रान्तिकारी शक्तिका हिसाबले हामी धेरै अगाडि बढिसक्नुपर्थ्यो,’ उनले भने।
जब सामाजिक, आर्थिक गतिविधि रोकिन्छ, त्यसपछाडि अनेक समस्याहरू सुरु हुने पनि महासचिव भुसालले बताए। उनले भने, ‘त्यो उकुसमुकुसमा राम्रो क्रान्तिकारी हस्तक्षेप हुन सकेन भने मुलुकहरू अझ बरबादीतिर जान्छन् समाज बरबादीतिर जान्छ। यो अवस्थामा ठ्याक्क आज हामी छौँ।’
प्रकाशित: ३ फाल्गुन २०८१ १५:०९ शनिबार