पूर्वप्रधानमन्त्री झलनाथ खनालले ०८४ मा बहुमत ल्याउनेगरी कांग्रेसले तयारी गरिरहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले ०८४ आउँदै गरेको भन्दै कांग्रेसले ०८४ को निर्वाचनका लागि राम्रो तयारी गरिरहेको बताए। उनले कांग्रेस यही ढाँचाबाट अघि बढे बहुमत ल्याउने सम्भावना रहेको बताए। यही अवस्थाले एमाले एक्लै बहुमत ल्याउँछु भनेर हिँडे एमाले दुर्घटनामा पर्ने उनले टिप्पणी गरे। उनले देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरुले पुनरावलोकन गर्नु आवश्यक रहेको बताए। देशका सबै वामपन्थी एक हुनुपर्ने उनले बताए।
पूर्वप्रधानमन्त्री खनालले भने, ‘अब ०८४ आउँदैछ । ०८४ को लागि कांग्रेसले राम्रो तयारी गरेको देख्छु मैले । राम्रो तयारीमा छ । ०८४ मा कांग्रेसले यही नै ढाँचाबाट गयो भने बहुमत ल्याउने सम्भावना देख्छु । वामपन्थीले कल्पना नगरे पनि हुन्छ । म एक्लै बहुमत ल्याउँछु भनेर अहिले एमाले हिँड्दैछ । एमालेको एउटा खुट्टा हो की दुई वटा खुट्टा भाँचिने हो भन्नसक्ने अवस्था छैन । त्यो दुर्घटनामा पर्छ । यदी अहिले पनि बुद्धि छ भने देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरुले पुनरावलोकन गर्नु, गलत कुरा सच्याउनु, साझा कुरा खोज्नुपर्छ । ’
पूर्वप्रधानमन्त्री खनालले रेमिट्यान्सबाट देश चलेको छ भनेर घमण्ड गर्नेकुरा भ्यागुते घमण्ड भएको बताए। उनले नेकपा (माओवादी केन्द्र) ले दक्षिणपन्थी बाटो अंगालेको बताए। नेकपा (एकीकृत समाजवादी) ले पनि सोहीबाटो बिराएको उनले बताए। कांग्रेसको पुच्छर भएर माओवादी र एकीकृत समाजवादी हिँडेको बताए।
प्रकाशित: २ फाल्गुन २०८१ १७:५६ शुक्रबार