नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले जनमत पार्टीसँगको एकताको शुभखबर चाँडै सुन्न पाइने बताएका छन्।
'जनमत पार्टीसँगको एकताको शुभखबर चाँडै सुन्न पाउनुहुन्छ, डा. साब (जनमतका अध्यक्ष डा. सीके राउत) सँग कुराकानी भइरहेको छ,' चौधरीले बुधबार (आज) नागरिकसँग भने।
उनले नाउपा र जनमतका बीचमा त्यति धेरै फरक विचाधारा नभएकाले पनि मिल्न सजिलो हुने बताए। 'हामी विचारधाराका हिसाबले पनि समान छौँ। अरु कुराहरू पनि समान नै छन्। हामी दुबै आन्दोलनबाट आएका हौँ। दुबै जेलनेल बसेका हौँ देश र जनताका लागि। दुबै युवा हौँ, त्यही कोणबाट कुराहरू गर्छौँ र बुझ्छौँ। त्यसो भए किन फरक-फरक बस्ने त भनेर हामीले एकताका लागि संवाद अगाडि बढेका छौँ,' उनले भने।
चौधरीले नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी देशबाहिर रहेको र उनी फर्केपछि एकताका लागि अन्तिम संवाद हुने बताए। सङ्गठनात्मक रूपमा एकीकृत पार्टीको नेतृत्व कसले गर्छ ? भन्ने जिज्ञासामा उनले त्यसमा विवाद नै नहुने जिकिर गरे। 'डा.साबसँग कुरा हुँदा त मैले तपाईं गर्नुस् भन्ने र उहाँले तपाईं गर्नुस् भन्ने भइरहेको छ। त्यसमा विवाद हुँदैन। हामीले पदभन्दा पनि जनताको सेवालाई मुख्य मानेका छौँ,' उनले भने।
उनले यसअघि गत माघ २७ गते नेसपा (नयाँ शक्ति) को पहिलो महाधिवेशनको खुल्ला सत्रमा डा. सीके राउत नेतृत्वको जनमतसँग चाँडै एकता हुने बताएका थिए।
प्रकाशित: ३० माघ २०८१ १६:०७ बुधबार