१० चैत्र २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न: शान्तिपूर्ण विरोध सभा गर्ने ठाउँ कहाँ छ ?

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले शान्तिपूर्ण विरोध सभा गर्नका लागि नागरिकको हकमाथि सरकारले प्रतिबन्ध लगाएको आरोप लगाएका छन्।

संविधानमा भएको मौलिक हक अनुसार नै आफ्ना कुरा राख्न पाइने, शान्तिपूर्ण सभा, विरोध गर्न पाउने भए पनि अहिले त्यस्तो अभिव्यक्ति व्यक्ति गर्नका लागि काठमाडाैंमा ठाउँ नै नभएको उनले गुनासो गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा साहले ‘नेपालमा लोकतन्त्र छ की निरङ्कुशता छ ?’ भन्ने प्रश्न गर्दै लोकतन्त्रमा सरकारले अभिव्यक्ति स्वतन्त्रता किन हनन गर्न खोजेको भनेर सरकारसँग जवाफ माग गरे।

‘नेपालमा लोकतन्त्र छ कि निरङ्कुशता छ ? निरङ्कुश भनिएको राजतन्त्रको बेलामा उफ्रिउफ्री विरोध र सभाहरू गर्ने नेता आज सत्तामा पुगेपछि आफैं निरङ्कुश बन्नु भएको छ। नेपाली जनताले विरोध गर्न खोज्दा विरोध गर्न पाउने ठाउँ कहाँ छ ?’, सरकारसँग प्रश्न गर्दै साहले भने, ‘हामी निर्वाचित सांसद भएकाले त ठाउँ पाउँदैनौँ भने सर्वसाधारणको हालत के होला ? यस बारेमा यो संसद्ले सरकारलाई निर्देश गरोस्।’

प्रधानमन्त्री केपी शर्मा ओली र उनको दल नेकपा (एमाले) ले व्यस्त सडकमै मञ्च बनाएर कार्यक्रम गर्ने छुट पाएपनि आम नागरिकले विरोध गर्ने ठाउँ कहीँ कतै नपाएको उनले बताए। आजपा अध्यक्ष साहले सरकारले जनतालाई रुन, हाँस्नसमेत नदिएको टिप्पणी गरे।

‘ठूला–ठूला नेता, प्रधानमन्त्रीज्यूहरुले सडकमै मञ्च लगाउनुहुन्छ। व्यस्त सडकमा मञ्च बनाउनुहुन्छ, त्यो आम जनताले पाउँछ कि पाउँदैन। जो शासक छ, उही सडकमा सभा गर्छ। जनताले कहाँ सभा गर्ने ? कुनै ठाउँ दिँदैन’, आजपा अध्यक्ष साहले भने, ‘अरु पनि देशमा लोकतन्त्र छ, लोकतान्त्रिक व्यवस्था छ। सबै देशहरुमा सभा सम्मेलन गर्ने ठाउँ दिइएको हुन्छ। हिजो राजतन्त्र हुँदा सभा सम्मेलन गर्ने ठाउँ खुल्ला थिए। त्यतिबेला निरङ्कुश राजा भन्नेहरु आजको सिस्टमलाई के भन्ने ? आजको सिस्टमलाई लोकतन्त्र भन्ने ? जनतालाई रुन पनि नदिने, हाँस्न पनि नदिने ?’

राजतन्त्रको समयमा उफ्रिउफ्रि सभा गर्ने, भाषण गर्ने नेताहरुले आज ती ठाउँमा ताल्चा लगाइएको किन नदेखेका होलान् भन्दै उनले सरकार राजाभन्दा पनि बढी निरङ्कुश बनेको टिप्पणी गरे।

यस्तै, आजपा अध्यक्ष साहले सरकारले संसदीय समितिको बैठकहरूमा सरकारले सुराकी पठाएको गम्भीर आरोप लगाएका छन्। उनले सरकारले समिति र सदनमा सांसदहरुले के बोल्छन् भनेर सुराकीको रुपमा केही प्रहरी खटाएको गम्भीर आरोप लगाएका हुन्। उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकार राजाको शासन कालभन्दा पनि निरङ्कुश भएको टिप्पणी गरे।

‘यतिसम्म कि अब मोबाइल (सामाजिक सञ्जाल) मा पनि विरोध गर्न बन्द गर्ने। संसद्मा पनि कुन दिन अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध हुन्छ। हामी सुन्छौँ, सरकारका प्रहरीहरू सुराकीको काम गर्दै छन्, समितिमा के बोल्छन् सांसदहरू ? संसद्मा सांसदहरू कसरी प्रस्तुत भइरहेको छ ? यतिसम्म त राजाले पनि गर्दैन थियो’ साहले भने।

प्रकाशित: २९ माघ २०८१ १९:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App