२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml १५:५५ अपराह्न
राजनीति

पूर्वगृहमन्त्री रवि लामिछानेको आलोचना सुन्न रास्वपालाई गाह्रो!

मङ्गलबार (आज) बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाको बोल्ने पालो नसकिँदै बैठक सञ्चालन गरिरहेकी उपसभामुख इन्दिरा रानाले विशेष समय सुरु भएको जानकारी गराइन्।

आफ्नो पालो 'स्कीप' भएपछि खतिवडा उठे र आफ्नो पालो नआएको सङ्केत गरे। यसपछि उपसभामुख रानाले दुई मिनेटमा बोल्न भनिन्। खतिवडाले बोल्ने क्रममा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आलोचना गरे।

उनले रविबारे यसो भनेका थिए-

संसद् सुरु हुँदै गर्दा धेरै कुरा सुन्नमा आयो। नेपाल प्रहरीलाई दुरुपयोग गरियो भन्ने समाचार सुन्नमा आयो। तर, हामीले को गृहमन्त्री हुँदा देखेका थियौँ। एक नम्बरकोलाई नबनाएर १५ नम्बरको प्रमोसन गरेको देख्यौँ। आईजीपीलाई समितिमा बोलाएर निर्दोष छ भनिदेन भनेर कानेखुसी गरेको पनि देख्यौँ। कसले सदुपयोग र कसले दुरुपयोग गर्‍यो, त्यहाँ हेर्ने बेला भएको छ। प्रहरीमा हाइजम्प-लमजम्प गरियो । दुई ब्याज पछाडिकोलाई प्रमोसन गरियो। त्यतिमात्र होइन, प्रहरीमा ५२ दिन नपुगी सरुवा स्थगन गरियो, त्यो कसको पालामा हो जवाफ चाहियो। बहस गर्ने वकिललाई झ्यामझ्याम गालामा हानेर सडकमा ल्याउने काम गरियो। अदालतमा मुद्दा चलिरहँदा बाहिर जुलुस निकालेर जिन्दावाद-मुर्दावाद प्रचलन सुरु भयो। यो कसले गरेको थियो ? सदनमा सत्तामा हुँदा एउटा कुरा गर्ने प्रतिपक्षमा हुँदा अर्को कुरा गर्ने पद्धतिको अन्त्य गर्नुपर्छ भन्ने हाम्रो धारणा छ। हामीले यो र त्यो भनेका छैनौँ।

जब, खतिवडाले यसो भनिसके। त्यसपछि रास्वपाले नियमापत्ति जनायो। जबकि, खतिवडाले यतिका लामो बोलिसकेका थिए। उनले बोलिरहँदा रास्वपाले नियमापत्ति जनाएन। तर, पार्टी सभापति रवि लामिछानेको बढी नै आलोचना भएपछि उसलाई लाग्यो- बैठक नियमावलीअनुसार चलेन।

'काउन्टर'मा रास्वपा सांसद गणेश पराजुलीले उठे र नियमापत्ति भने। नियमावलीको कुन नियमअन्तर्गत आफ्नो नियमापत्ति हो भनेर त उनले बताएनन् तर, उनले भने, 'सत्तापक्षका सांसदलाई जतिबेला पनि र जहाँ पनि बोल्न दिने ? कुन नियमअनुसार बोल्न दिइएको हो, जवाफ चाहियो।'

खतिवडाले बोल्नुअघि विशेष समय सुरु भइसकेकामा उनलाई पुन: शून्यकै समय दिइएको भन्दै उनले भने, 'यसको हामी उभिएर विरोध गर्छौँ।'

रास्वपाको यो विरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले पनि साथ दियो। प्रमुख सचेतक हितराज पाण्डेले उभिएर भने, 'मैले अघि पनि भनेँ। फेरि पनि भन्छु- सदन नियमावलीअनुसार चलिरहेको छैन। कुन नियमअनुसार उहाँलाई बोल्न दिइएको हो ?'

उपसभामुख रानाले आफ्नो गल्ती सच्याउन त खोजिन् तर, सकिनन्। प्रक्रियाभन्दा पनि सभापतिको आलोचना सुन्न गाह्रो परेको रास्वपालाई माओवादी केन्द्रले साथ दिएपछि त बैठक चल्ने कुरै भएन। माओवादी केन्द्र र रास्वपा सांसदहरू उभिए।

त्यसबीचमा सभामुख देवराज घिमिरेको प्रवेश भयो र उनले पनि प्रक्रियामा केही त्रुटि भएको स्वीकार्दै सांसदहरूलाई बस्न आग्रह गरे र सचिवालयलाई यस्तोमा के गर्ने भनेर सुझाव दिन निर्देशन गरे। तर, सांसदहरू नबसेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

यो पनि पढ्नुहोस्

उपसभामुखका कारण भाँडियो प्रतिनिधिसभा बैठक, १५ मिनेटका लागि स्थगित

 

प्रकाशित: २९ माघ २०८१ १५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App