१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

पत्रकार रजक हत्याको छानबिन गर्न मानवअधिकार आयोगलाई महासंघको ध्यानाकर्षण

चैत्र १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनमा मारिएका पत्रकार सुरेश रजकको हत्याबारे निष्पक्ष र स्वतन्त्र छानबिनको माग गर्दै नेपाल पत्रकार महासंघले मानवअधिकार आयोगको ध्यानाकर्षण गरेको छ। महासंघका उपाध्यक्ष उमिद बागचन्दको नेतृत्वमा गएको टोलीले शुक्रवार आयोगका अध्यक्ष टोपबहादुर मगरलाई ज्ञापन पत्र बुझाउँदै छानबिनका लागि ध्यानाकर्षण गराएको हो। 

ज्ञापन पत्र बुझाउँदा महासंघका महासचिव रामप्रसाद दाहालले उक्त ज्ञापन पत्रमा हिंसात्मक घटनामा पत्रकार रजकलाई ज्युँदै जलाएर हत्या गरेको पाइएको बताउँदै  निष्पक्ष र स्वतन्त्र छानबिन आवश्यक रहेको बताए। घटनाका दोषीमाथि कारबाही सुनिश्चित गरिदिन पनि आयोगसँग दाहालले आग्रह गरे। 

महासंघका उपाध्यक्ष बागचन्दले तीनकुनेको हिंसात्मक घटनाबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण भएकोबारे पनि सत्य तथ्य छानबिन गरिदिन आयोगसँग आग्रह गरे। 

महासंघले बुझाएको ज्ञापन पत्रमा घटनाको सत्य तथ्य छानबिन, दोषीमाथि कारबाही, मृतक पत्रकारका परिवार तथा क्षति पुगेका सञ्चार गृहलाई क्षतिपूर्ति, घाइते पत्रकारको निःशुल्क उपचार, सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूतिलगायतका माग राखिएका छन्। 

ज्ञापन पत्र बुझ्दै आयोगका अध्यक्ष मगरले आयोगले सत्य तथ्य छानबिन गरी मृतक रजकको न्यायका लागि हरेक प्रकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

‘यो घटनामा हाम्रो अयोगका अधिकृतहरू पनि कुटिएका छन् । हामीले सकेसम्म निष्पक्ष छानबिन गरी सही कुरा बाहिर ल्याउन अनुसन्धान सुरु गरिसकेका छौँ,’ अध्यक्ष मगरले भने, ‘तपाईँहरूले छानबिनमाथि शंका गर्ने अवस्था आउँदैन ।’ आयोगले छानबिनकै क्रममा काठमाडौँ  र ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसँग छलफल गरिसकेको उनले बताए।  

प्रकाशित: २९ चैत्र २०८१ १४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App