२६ कार्तिक २०८३ बिहीबार
image/svg+xml
राजनीति

रास्वपा सांसद अन्सारी सहभागी चियापान कार्यक्रममा झडप

बारामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारी सहभागी चियापान कार्यक्रममा पार्टीका दुई समूहबीच झडप भएको छ।

जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुही टोलमा रास्वपाले आयोजना गरेको चियापान कार्यक्रममा पार्टीभित्रकै दुई पक्षबीच विवाद हुँदा झडप भएको हो।

झडपमा केही कार्यकर्तासमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

भलुही टोलमा छठ पर्वको अवसरमा सांसद अन्सारीलाई बोलाएर चियापान कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बोल्ने क्रममा रास्वपाका स्थानीय कार्यकर्ता असलम देवाना र सुवास मन्सुरी पक्षबीच विवाद सुरु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टका अनुसार कार्यक्रममा बोल्ने क्रममा दुई समूहबीच विवाद सुरु भई झडपमा परिणत भएको थियो।

कार्यकर्ताहरूबीच कुटाकुट हुन थालेपछि सांसद अन्सारी कार्यक्रमस्थलबाट बाहिरिएका थिए।

झडपमा घाइते भएकाहरूलाई वीरगञ्जस्थित गण्डकमा रहेको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि लगिएको थियो। घाइतेको उपचार गराउन अस्पताल पुगेका दुवै समूहका कार्यकर्ताबीच अस्पताल परिसरमै पुनः विवाद र झडप भएको थियो।

अस्पताल परिसरमा समेत झडप भएपछि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।

प्रकाशित: २६ कार्तिक २०८३ १९:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App