आकस्मिक समय सकिएपछि मङ्गलबार (आज)को प्रतिनिधिसभा बैठक सञ्चालनको जिम्मेवारी उपसभामुख इन्दिरा रानाले पाइन्।
शून्य समय चलिरहेको थियो। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले बोलिसकेपछि कल्पना मियाँको पालो थियो। तर, उनी उपस्थित भइनन्।
यसपछि उपसभामुख रानाले शून्य समय सकिएको र विशेष समय सुरु भएको जानकारी गराइन्। तर, मियाँपछि कांग्रेसकै सांसद रामहरि खतिवडाले शून्य समयमै बोल्नका लागि नाम टिपाएका थिए। तर, उपसभामुख रानाले विशेष समय सुरु भएको जानकारी गराएपछि खतिवडा उठे र उपसभामुख रानाले २ मिनेटमा कुरा राख्न भनिन्।
उनले भनिन्, 'हुन्छ एक मिनेटमा, दुई मिनेटमा गर्नुस्।' निर्धारित समय नै बोलेका उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको आलोचना गरे।
त्यसमा प्रक्रिया नमिलेको भन्दै रास्वपा सांसद गणेश पराजुली उठे। त्यसबीचमा उपसभामुख राना नै जवाफदेही हुनुपर्ने अवस्था आयो। उनले सच्याउन खोजिन् तर, विषय अझ ठूलो भयो। 'अघि उहाँ (रामहरि खतिवडा) को छुटेछ। तपाईंहरू बस्नुस्, यसबारे हाम्रो गम्भीर ध्यानाकर्षण भयो। सचिवालयलाई यसबारे थप कुरा बुझ्न म निर्देशन गर्छु,' उनले भनिन्।
तर, त्यसबीचमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले पनि विरोध जनायो। प्रमुख सचेतक हितराज पाण्डेले बैठक नियमावलीअनुसार नचलेको उल्लेख गर्दै भने, 'कुन नियमअनुसार बोल्न दिइयो ? सत्तापक्षलाई जतिबेला पायो, त्यतिबेला बोल्न दिने ?'
यसपछि पुन: उपसभामुख रानाले सच्याउन खोजिन्। उनले भनिन्, 'लिस्ट लामो छ। मैले इन्टेन्सनल्ली नै छुटाएको थिइनँ। छुटेछ र बोल्न दिएकी हुँ।' तर, माओवादी केन्द्र र रास्वपाका सांसदहरूले त्यसमा चित्त बुझाएनन्।
उनीहरूले उभिएर विरोध गरेको-गर्यै गरे। उपसभामुख रानाले निरन्तर ध्यानाकर्षण भएको उल्लेख गर्दै बस्न आग्रह गरिरहिन्।तर, उनीहरू बसेनन्।
त्यसबीचमा सभामुख देवराज घिमिरेको प्रवेश भयो। उनले पनि केही गल्ती भएको स्वीकार्दै त्यसमा सचिवायलले जवाफ दिने तर, बैठक सञ्चालन गरौँ भनेर आग्रह गरे। तर, माओवादी केन्द्र र रास्वपा सांसदहरू तयार भएनन्।
यसपछि उनले बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी गराएका छन्।
प्रकाशित: २९ माघ २०८१ १४:४१ मंगलबार




