नेकपा (एमाले) का नेता महेश बस्नेतले एउटै सहकारी एउटै प्रकृतिको ठगीमा छविलाल जोसी र रवि लामिछानेको बारेमा विभेदपूर्ण फैसला आएको बताएका छन्।
सोमबार राति सामाजिक सञ्जालमा लेख्दै उनले रास्वपा सभापति रविलाई धरौटीमा छोड्ने आदेश दिइरहँदा छविलाई पुर्पक्षमा पठाउने आदेश आएको भन्दै यस्तो बताएका हुन्। उनले लेखेका छन्, 'सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएछ। एउटै सहकारी एउटै प्रकृतिको ठगीमा छविलाल जोसी र रवि लामिछानेको बारेमा विभेदपूर्ण फैसला आएको छ। रविलाई धरौटीमा छोड्ने आदेश दिइरहँदा छविलाई पूर्पक्षमा पठाउने आदेश आएको छ।'
उक्त फैसलाले रविको आदेशमा न्यायाधीशहरूले राम्रै दबाबको सामना गर्नुपरेको देखाएको उनले बताए। 'यसबाट के बुझ्न सकिन्छ भने रविजीको आदेशमा न्यायाधीशज्यूहरूले राम्रै दबाब सामना गर्नुपरेको रहेछ,' उनले भने।
यस्तै जिल्ला अदालतले भन्दा उच्च र सर्वोच्चले दबाबको सामना गर्ने हिम्मत गर्दै यो विभेदपूर्ण फैसलालाई उच्चले सच्याउँदै सहकारीका ठगहरूलाई कठघरामा उभ्याउने र पीडितहरूलाई रकम फिर्ता गरेर न्याय दिलाउने अपेक्षा समेत उनले गरेका छन्।
उनले भने, 'स्वाभाविकै जिल्ला अदालतले भन्दा उच्च र सर्वोच्चले दबाबको सामना गर्ने हिम्मत गर्छ। तसर्थ यो विभेदपूर्ण फैसलालाई उच्चले सच्याउने छ। सहकारीका ठगहरूलाई कठघरामा उभ्याउने छ र पीडितहरूलाई रकम फिर्ता गरेर न्याय दिलाउनेछ।'
हिजो (सोमबार) जिल्ला अदालत, रुपन्देहीले बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी प्रकरणमा जोडिएका पूर्वडिआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। भने, यसअघि यही सहकारीको मुद्दामा रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई अदालतले १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिइसकेको छ।
प्रकाशित: २९ माघ २०८१ ०८:०८ मंगलबार