नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनअघि गठबन्धन गर्ने व्यक्ति नेपाली कांग्रेसमै नरहने चेतावनी दिएका छन्।
सोमबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले २०८४ को निर्वाचनसम्म पार्टीले राम्रो काम गरेर जनतामाझ जानुपर्ने बताए। साथै, आगामी चुनावमा कांग्रेसका कुनै पनि उम्मेदवारले अर्को पार्टीको चुनाव चिन्हमा मत माग्न नसक्ने दाबी गरे।
महामन्त्री थापाले निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्नेबारे छलफल गरिरहेको उल्लेख गर्दै, त्यसो भएमा कसैले पनि चुनावअघि गठबन्धन गर्ने आँट नगर्ने दाबी गरे।
उनले भने ‘२०८४ को चुनावमा जाने बेलासम्म राम्रो काम गरौँ। त्यो कामको श्रेय लिने गरी जानुपर्छ। कुनै बेला म एक्लै थिएँ, तर अब सिंगो पार्टी नै चुनावअघि गठबन्धन गर्नु हुँदैन भन्ने निर्णयमा पुगेको छ। यदि कसैले कांग्रेसबाट उठेर अर्को पार्टीको चुनाव चिन्हमा मत हाल्न उर्दी जारी गर्छ भने त्यो व्यक्ति कांग्रेसमै रहँदैन।’
राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै उनले हावाहुरी आउँछन् र जान्छन्, त्यसैले डराउन नपर्ने बताउँदै कांग्रेस संगठन बलियो बनाउनुपर्नेमा जोड दिए।
प्रकाशित: २८ माघ २०८१ १६:३६ सोमबार