नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनबारे आफूलाई नसोधिएको भन्दै असन्तुष्टि जनाएका छन्।
आइतबार (आज) काठमाडौंमा आयोजित 'संविधान कार्यान्वयनको एक दशक र संवैधानिक सुधारको आवश्यकता' विषयक संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्।
'संविधान संशोधन सजिलो छैन, अग्रगमनको पक्षमा हो भने त्यो ठीक छ, सहज छ। तर, यहाँ अझ पछाडि फर्कन चाहनेहरू छन्। यसमा हाम्रो सहमति छैन,' उनले भने।
फरक प्रसङ्गमा दाहालले अधिकार प्रत्यायोजन गर्न हुँदैन भन्ने 'माइन्डसेट' बलियो भएको बताएका छन्।
'ब्यूरोक्रेसीमा रहेका धेरैजसो हाकिमहरू पञ्चायत र बहुदलकालमा प्रशिक्षितहरू छन्। मैले कसैलाई आरोपित गर्दै छैन, उनीहरू सिंहदरबारमै हुनुपर्छ त्यो अधिकार भनिरहेका छन्। सिंहदरबार बाहिर अधिकार प्रत्यायोजन गर्दा आफ्नो अधिकार कमजोर हुन्छ भन्नेहरू छन्। राजनीतिक दलमा पनि त्यो कुरा देखिन्छ,' उनले भने।
प्रकाशित: २७ माघ २०८१ १७:१६ आइतबार





