२०२८ सालको मदन पुरस्कार प्राप्त गर्नेहरूमध्ये धेरैले सत्यमोहन जोशीलाई मात्र सम्झन्छन्। तर त्यस वर्ष मदन पुरस्कार प्राप्त गर्ने ग्रन्थ ‘कर्णाली लोक संस्कृति’ लेख्नेहरूमा जोशीका अलावा स्थिरजंगबहादुर सिंह, चूडामणि बन्धु, प्रदीप रिमालसँगै बिहारीकृष्ण श्रेष्ठ पनि थिए।
२०२६ सालमा कर्णालीको समाजशास्त्रीय अध्ययन गर्न जुम्ला पुगेका बिहारीकृष्ण श्रेष्ठले ‘दियार गाउँका ठकुरीहरू’माथि अध्ययन गरेका थिए। सो अध्ययनमा उनले खेतीकिसानीमा जीवन बिताइरहेका जुम्लीहरूले सयौं वर्ष पुरानो कुलोको व्यवस्थापन कसरी गरेका रहेछन् भनी अध्ययन निष्कर्ष प्रस्तुत गरेका थिए। पुस्तकमा उनले दुई सय वर्ष पुरानो कुलो भन्ने अनुमान गरेको भए पनि पछि करिब ६०० वर्ष पुरानो कुलो रहेको पत्ता लागेको थियो।
उक्त कुलोको व्यवस्थापन नेपालमा उपभोक्ता समूहको सर्वोत्कृष्ट उदाहरण रहेको बताउँदै त्यसलाई अन्यत्र पनि लागु गर्नुपर्नेमा श्रेष्ठले जोड दिने गरेका थिए। उपभोक्ता समिति र विकेन्द्रीकरणको पहिलो ऐन ल्याउने श्रेय उनलाई जान्छ।
नेपालको स्वास्थ्य क्षेत्रमा कुनै समय आमा समूह निकै चर्चित थियो। २०३९ सालमा विकेन्द्रीकरण ऐनमा व्यवस्था भएको उपभोक्ता समूहलाई स्थानीय जनताको सशक्तीकरण गर्ने अवधारणाअन्तर्गत स्वास्थ्य सेवाका लागि गाउँगाउँमा आमा समूह स्थापना गरिएको थियो।
यो समूहबाट छानिएका एक सदस्यलाई स्वास्थ्य मन्त्रालयले महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा तालिम दिने नीति तथा कार्यक्रम ल्याउन तत्कालीन स्वास्थ्य सचिव श्रेष्ठको योगदान मानिन्छ।
आमा समूह बनेपछि नेपालका चार हजार गाउँ पञ्चायतमा ३६ हजार आमा समूह र त्यति नै संख्यामा स्वास्थ्य स्वयंसेविका नियुक्त भएपछि नेपालले स्वास्थ्य क्षेत्रमा निकै ठुलो प्रगति गरेको थियो। त्यसबेला शिशु मृत्युदर एक हजारमा एक सय ११ थियो भने सुत्केरी मृत्युदर एक लाखमा पाँच सय ७५ थियो। उनको यो सोचका कारण संयुक्त राष्ट्रसंघको स्वास्थ्य सहस्राब्दी लक्ष्य हासिल गर्न नेपाललाई सहज मात्र भएन, नेपाल उदाहरणीय देशसमेत बन्न पुग्यो।
आमा समूहको स्थापनापछि यो संख्यामा निकै प्रगति भएको थियो। पञ्चायत कालमा यस्तो प्रगति दुर्लभ नै मानिन्थ्यो। यसका लागि श्रेष्ठले खेलेको भूमिका उदाहरणीय मानिन्छ। राजा वीरेन्द्रको महत्त्वपूर्ण भाषण लेख्ने जिम्मेवारी पनि उनले पाउने गरेका थिए।
श्रेष्ठ एक पटक विमान अपहरणमा परेर क्षतिपूर्तिसमेत प्राप्त गरेका थिए। प्यालेस्टाइनी क्षेत्रमा इजरायलले कब्जा गरेको विरोधमा प्यालेस्टाइनीहरूले उनी चढेको केएलएम ७४७ जहाज अपहरण गरेका थिए।
इजरायलीहरूले नेदरल्यान्ड्स सरकारले इजरायलीको पक्ष लिएको विरोधमा अपहरण गर्दा उनी पनि दिल्ली झर्नुपर्नेमा दमास्कस पुगेका थिए भने त्यहाँबाट माल्टामा झर्नुपरेको थियो। उनले साथीभाइमाझ ३३ घण्टाको अपहरण घटनालाई रोचकताका साथ सुनाउने गर्थे।
२०४५ सालमा पञ्चायती शासनविरुद्ध आन्दोलन चर्किंदा भारतले लगाएको नाकाबन्दीमा संयुक्त राष्ट्रसंघमा आफ्ना भनाइ कडाइका साथ राख्ने कर्मचारीका रूपमा उनी चिनिन्छन्। राष्ट्रसंघमा भारतको बेइज्जत गरेको भन्दै उनलाई त्यतिबेला नै भारतीयहरूले केरकार गरेको अनुभव पनि उनी सुनाउँथे। उनलाई नेपाल–भारत सम्बन्ध बिगार्न खोजेको भन्दै त्यो बेला धम्कीसमेत दिइएको थियो। पछि २०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि निजामती ऐनको दफा लगाएर अवकाश दिएर भारतले बदला लिएको उनको बुझाइ थियो।
‘जीवनभर श्रेष्ठले समाजशास्त्रमा रुचि राख्नुभयो,’ सोसल साइन्स बहाःका पूर्वनिर्देशक हरि शर्माले नागरिकसँग भने, ‘उहाँले नयाँ पुस्ता नेपाल अध्ययनमा गहिरो चाख दिनुपर्छ भन्ने मान्यताको व्यक्ति हुनुहुन्थ्यो। त्यसैले पनि ५० लाख रुपैयाँको एउटा अक्षयकोष बनाइदिनुभएको थियो। त्यो कोषले अहिले पनि कैयौं नयाँ विद्यार्थीले लाभ लिइरहनुभएको छ।’
मनमा लागेको कुरा धक नमानी बोल्ने बानी आफूलाई मन पर्ने बताउँदै शर्माले भने, ‘कतिपय कुरा निष्ठाका थिए, त्यसमा हामी सहमत नभए पनि मलाई उहाँको निर्धक्क बोल्ने बानी मन पथ्र्यो। उहाँले देश बुझ्नुभएको थियो। लामो समय समाज अध्ययन गर्नुभयो र जीवनभर यसलाई आफ्नो रुचिमा राखिरहनुभयो। उहाँको यो बानी मलाई मनपर्छ।’
२०७८ सालमा निकालेको श्रेष्ठको पुस्तकको दोस्रो संस्करणका सम्पादक मोहन मैनालीले आजभन्दा ५५ वर्षअघि दुसाध्य कर्णालीको अध्ययन गर्न जानु, त्यहाँ बसेर लामो समयसम्म अध्ययन गर्नु एक किसिमको एड्भेन्चर नै रहेको बताउँछन्।
पुस्तक पढेर आफू उहाँको प्रशंसक रहेका बेला पुनः सम्पादन गर्ने अवसर पाउँदा भएका भेटमा उहाँ एकदमै राम्रो अध्येता, आफ्नो अध्ययन क्षेत्रमा पकड रहेको व्यक्तिका रूपमा चिनेको बताउँछन्।
‘कर्णालीमा सामुदायिक कुलोको व्यवस्थापनबारे उहाँले जुन अध्ययन गर्नुभयो र त्यसलाई नै पछि सामुदायिक वन व्यवस्थित गर्न त्यही विधि उहाँले उपयोग गर्नुभएको देख्दा उहाँ कति व्यावहारिक हुनुहुँदोरहेछ भन्ने थाहा हुन्छ,’ मैनाली भन्छन्, ‘हरेक सरकारी कर्मचारीले केही न केही अनुसन्धान गर्नुपर्छ भन्ने उहाँको मत थियो। त्यो अनुसन्धानले पछि व्यावहारिक निर्णय गर्न ठुलो सघाउ पु¥याउँछ भन्ने उहाँको विश्वास थियो।’
‘जीवनभर उहाँलाई कर्णालीले आकर्षण गरिरह्यो। उहाँ त्यहाँ नपुगे पनि निरन्तर चासो दिनुहुन्थ्यो। उहाँ कर्णाली पुगेको त्यो समय दुई भेगमा कर्णालीको सम्बन्ध थियो। उत्तरमा ताक्लाकोट (तिब्बत) र पश्चिममा (गढवाल) सँग सम्बन्ध राखिरहेको थियो। पछि सडक नबने पनि कसरी काठमाडौंसँग जोड्न सरकारी अड्डाहरूले र पछि राजनीतिक दलहरूले भूमिका खेले भन्ने उहाँ बारम्बार सुनाइरहनुहुन्थ्यो,’ मैनाली सम्झन्छन्।
कर्णालीमा रहँदा गरेको अध्ययन लेख्न विहारीकृष्णलाई निकै समय लाग्यो। समयमा पुस्तक तयार नहोला भन्ने डरले सो परियोजनाका संयोजक सत्यमोहन जोशीले हरेक दिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको कार्यालय जाँदा उनको घर छिर्ने गर्थे। हरेक दिन जोशीले ‘काम सकियो’ भनेर सोधेको देखी श्रेष्ठ पत्नीले सोधिन्, ‘कहिल्यै नसकिने कस्तो काम हो?’
पत्नीको प्रश्नपछि भने उनले आफ्नो जिम्मेवारी सकेको र आफ्नो काममा पत्नीको पनि भूमिका रहेको श्रेष्ठ सुनाउने गर्थे। १९९३ साउन १० गते काठमाडौंको प्याफलमा जन्मिएका श्रेष्ठको शुक्रबार निधन भएको छ।
प्रकाशित: २७ माघ २०८१ ०७:०३ आइतबार