अमेरिका र युक्रेनका शीर्ष वार्ताकारहरूले शुक्रबार भनेका छन् कि युक्रेन युद्ध अन्त्य गर्ने विषयमा भएको वार्ता ‘रचनात्मक’ रहेको छ, तर शान्तिको बाटो रूसको इच्छामाथि निर्भर गर्छ। अमेरिकी विशेष दूत स्टिभ भिटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनरले युक्रेनी वार्ताकारहरूसँग जारी गरेको संयुक्त विज्ञप्तिमा यो कुरा उल्लेख गरिएको छ।
‘कुनै पनि सम्झौतामा वास्तविक प्रगति त्यतिबेलामात्र सम्भव हुन्छ, जब रूसले दीर्घकालीन शान्तिप्रति गम्भीर प्रतिबद्धता देखाउँछ, विज्ञप्तिमा भनिएको छ, ‘जसमा तनाव कम गर्ने र हिंसा रोक्ने कदमहरू पनि पर्छन्।’
बैठकका क्रममा दुवै पक्ष ‘सुरक्षा व्यवस्थाको ढाँचा’ मा सहमत भए र रोकथामसँग सम्बन्धित विषयमा छलफल गरे।
स्टिभ भिटकफ, जारेड कुशनर, युक्रेनका राष्ट्रिय सुरक्षा सचिव रुस्तेम उमेरोभ र ब्रिगेडियर जनरल एन्ड्री हनातोभबीचको यो दुई दिनको बैठक दुई हप्ताभित्र भएको छैटौँ चरणको वार्ता हो। उनीहरू शनिबार फेरि फ्लोरिडामा भेट्नेछन्। एजेन्सी
प्रकाशित: २० मंसिर २०८२ १०:५१ शनिबार





