३१ चैत्र २०८१ आइतबार
image/svg+xml १३:५८ अपराह्न
राजनीति

'बसेर बोल्दा कसैले सुन्दैन, उठेर बोल्दा हावाले उडाउँछ'

'पार्टीको नाम फेरेर अघि बढ्छौँ'

वामदेव गौतम हक्की स्वभावका छन्, उनी त्यति 'खुरापात' पनि जान्दैनन्। त्यसैले होला, उनी विभिन्न नेताका आश्वासनमा फसिरहन्छन्। फसेपछि उनी ढुल्मुलिन्छन्। यसपछि उनको नाम हुन्छ— ढुलमुले।

उनी अहिले आएर फेरि एकपटक ढुल्मुलिएका छन्। अब राजनीतिमा कसरी अगाडि बढ्ने भन्नेबारे उनले ठोस निर्णय लिनसमेत सकेका छैनन्। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहकार्य गर्ने भनेर चुपचाप बसेपछि गौतम यता न उताका भएका छन्।

त्यसअघि उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकताका लागि तम्तयार थिए। तर, ठूलो दल एमालेबाट सहकार्यको प्रस्ताव आएपछि उनी एकीकृत समाजवादीसँगको एकता प्रक्रियालाई बिचमै छाडेर एमालेतिर फर्किए। अहिले न एमालेले पत्याउँछ, न एकीकृत समाजवादीले बोलाउँछ।

आफ्नो यो अवस्थालाई उनी यसरी व्याख्या गर्छन्— बसेर बोल्यो कसैले सुन्दैन, उठेर बोल्यो हावाले उडाउँछ।

नागरिकसँग उनले बिलौना पोखे, 'केपी ओलीले वामदेव आए त हाम्रो पार्टी बढ्छ भनेर भन्नुभयो। त्यसो भनेपछि उहाँ चुपचाप बस्नुभएको छ। अहिले आएर यता न उताको भइयो। मेरो अवस्था त यस्तो भयो कि बसेर बोल्दा कसैले सुन्दैन अनि उठेर बोल्दा मेरो आवाज नै हावाले उडाउँछ।'

त्यसो त उनी दोस्रोपटक एमाले फर्किने मनसायमा पुगेका थिए। उनले पहिलोपटक २०५४ सालमा पार्टी त्यागेका थिए र त्यसको चार वर्षपछि २०५८ पुन: पार्टीमै फर्किएका थिए। यसपछि दोस्रोपटक २०७८ सालमा एमाले त्यागेका उनी फेरि फर्किन चाहन्छन्। तर, उनको चाहनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भाउ दिएका छैनन्।

यसपछि उनी कहिले खेतीकिसानी गरेर बस्ने बताउँछन् भने कहिले आफ्नै पार्टी सुदृढ गरेर अगाडि बढ्ने बताउँछन्।

उसो त वामदेव तत्कालीन नेकपा एकता भएको हेर्न चाहन्छन्। एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर २०७४ सालमा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तीन टुक्रा भएपछि त्यसको पुनर्एकताको माग गर्दै नेकपा एकता अभियान गठन गरेका गौतमले यहाँसम्म आइपग्दा हन्डर खाइसकेका छन्।

'हाम्रो मुख्य उद्देश्य भनेकै तत्कालीन नेकपा एकता हो। त्यसै भनेर हामीले अभियान बनाएका हौँ। अहिले यो निर्वाचन आयोगमा दलकै रूपमा दर्ता छ। तर, पार्टीहरूले पत्याइरहेका छैनन्,' उनी भन्छन्, 'एकता गर्न नमान्ने कम्युनिष्ट नै होइन।'

पार्टीको नाम फेरेर अगाडि बढ्ने

बुधबार (आज) मात्रै गौतमको पार्टी नेकपा एकता अभियानको सचिवालय बैठक बस्यो। बैठकमा सबै नेताहरूले धारणा राखे। त्यस क्रममा बहुमत नेताहरूले अब आफ्नै बुतामा अगाडि बढ्नुपर्ने धारणा राखेका छन्।

त्यसमा पार्टीको नाम फेरेर सुदृढीकरणमा लाग्नुपर्ने नेताहरूले बताएका छन्। गौतमलाई पनि त्यो प्रस्ताव राम्रै लागेको छ। उनले भने, 'यो प्रस्ताव मलाई पनि राम्रै लागेको छ। अब यसै गर्छौँ होला। एकताको अवस्था नबनेपछि के गर्ने खै। तर, हाम्रो पार्टीको पहिलो नीतिचाहिँ कम्युनिष्टहरूबीचको एकता नै रहने छ। त्यससँगै दलका रूपमा अरु काम पनि गर्छौँ।'

यो पनि पढ्नुहोस्

वामदेव फेरि ‘पेन्डुलम’ !

तत्कालीन नेकपाबाट टुक्रिएका एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता गर्ने भनेर नाम पनि एकता अभियान राखिएको तर, आफूहरूको एकताको प्रस्तावमा तीनवटै दल आकर्षित नभएको एक नेता बताउँछन्। उनी भन्छन्, 'अब एकता नै नुहने भएपछि नाम पनि किन एकता राखिरहने भनेर नाम फेर्ने प्रस्ताव आएको छ। केपी ओली, प्रचण्ड, माधव नेपालहरू नै एकताका लागि कन्भिन्स नभएपछि के गर्ने ? अब थप छलफलमार्फत निर्णयमा पुग्छौँ। सम्भवत: अब नाम फेर्छौँ र आफैँ अगाडि बढ्छौँ।'

पार्टीको नाम गैरकम्युनिष्ट हुने ती नेताले बताएका छन्। नाममा समाजवाद वा समाजवादी शब्द हुने उनले बताए। 'अब कम्युनिष्ट भनेर मात्रै पनि नहुने देखियो। नामचाहिँ गैरकम्युनिष्ट हुन्छ होला। समाजवाद वा समाजवादी भन्ने शब्दचाहिँ नाममा छुट्दैन,' ती नेताले भने।

अधुरै प्रधानमन्त्री-सपना

गौतम प्रधानमन्त्रीका रहरे नेता हुन्। उपप्रधानमन्त्री बनिसकेका उनले यसबीचमा प्रधानमन्त्री बन्ने बाटो कमचाहिँ खोजेनन्। तर, कहाँ पाउनु!

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा मनोनीत गरेपछि उनले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने गरी संविधान संशोधन हुनुपर्ने माग राखे। तर, उनको त्यो माग माथि उनैले भनेझैँ हावाले उडायो। 

त्यसअघि उनले पाँच वर्षका लागि मात्रै आफूलाई प्रधानमन्त्री बनाइदिए विश्वका धनी देशलाई पछाडि पार्ने नबताएका पनि होइनन्। तर, उनको प्रधानमन्त्रीको रहर रहरभन्दा माथि उठेन। 

अहिले फेरि एमाले फर्किने उनको चाहनामा पनि प्रधानमन्त्री-सपनाले नै घच्घच्याएको कतिपयको बुझाइ छ। तर, अध्यक्ष केपी शर्मा ओलीले नपत्याएपछि अब उनको यो सपनामा सधैँका लागि 'ब्रेक' लाग्यो भन्दा फरक नपर्ला।

उमेरले ७५ उँभो लागेका उनका लागि अब प्रधानमन्त्री बन्ने बाटो कहाँबाट खुल्ला र ? जबकि राष्ट्रिय राजनीतिबाटै उनी हेलिँदै गएको सन्दर्भ छ।

यो पनि पढ्नुहोस्

एमालेले नभित्र्याए खेतीकिसानी गरेर बस्छु : वामदेव गौतम (अन्तर्वार्ता)

प्रकाशित: २३ माघ २०८१ २०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App