३० माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता, के भयो कुराकानी ?

जलवायु परिवर्तन विश्वको प्रमुख चिन्ता: राष्ट्रपति

नेपाल भ्रमणमा रहेका बेलायतका अधिराजकुमार एडवार्ड र राजकुमारी सोफियाले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । अलग अलग जहाजमार्फत् मंगलबार काठमाडौ आएका उनीहरुले अपरान्ह शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताए । “जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ आवाज उठाउँदै आएको छ”, राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

यसै सन्दर्भमा नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको राष्ट्रपति पौडेलले जानकारी दिए। उक्त मञ्चको पहिलो संस्करण आगामी १६ देखि १८ मेसम्म काठमाडौंमा “जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य” विषयमा आयोजना हुन गइरहेको उनको भनाइ थियो।

राष्ट्रपति पौडेलले बेलायतका राजपरिवारका सदस्यहरूबाट विभिन्न समयमा हुँदैआएका नेपाल भ्रमणले दुई देशबीच रही आएको सुमधुर सम्बन्धलाई अझ मजबुत पार्न योगदान दिएको बताए। साथै उनले महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको स्मरण गरे।

“नेपाल र बेलायतबीच सदियौँदेखि घनिष्ट सम्बन्ध रही आएको छ, महत्वपूर्ण विकास साझेदारसमेत रहेको बेलायतले नेपालको चौतर्फी विकासमा सहयोग पुर्‍याउँदै आएकोमा धन्यवाद व्यक्त गर्दछु”,राष्ट्रपति पौडेलले भने। साथै, सो अवसरमा उनले नेपाली नागरिक र आफ्नातर्फबाट राजा चाल्र्सको व्यक्तिगत सुख एवम् सुस्वास्थ्यको शुभकामना व्यक्त गरे।

सो अवसरमा अधिराजकुमार एडवार्डले नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनिकरणमा नेपालले गरेको प्रयासका बारे भ्रमणका क्रममा जानकारी हुने विश्वास व्यक्त गरे। उनले भ्रमणका क्रममा प्रकृति कति जोखिम अवस्थामा छ र हिमालमा जलवायु परिवतर्नले कस्तो असर पारेको छ भनेर जान्न बुझन पाउने पनि बताए।

बेलायतको राजपरिवारका सदस्यबाट नेपाल आउने प्रयास भइरहेको र नेपाल आउँदा आफूलाई अत्यन्त खुशी लागेको बताउँदै अधिराजकुमारले नेपाल बेलायतबीच भविष्यमा सहयोगको आदानप्रदान गर्दा युवा र महिला सशक्तिकरणको विषय सान्दर्भिक हुने बताए।

उनले ब्रिटीस सेनामा नेपालले भर्तिको लागि दिएको स्वीकृतिका लागि आभार प्रकट गर्दै नेपाल बेलायतबीचको सुमधुर सम्बन्धमा ब्रिटीस गोर्खा सेना कोशेढुंगा रहेको उल्लेख गरे।  

“ब्रिटिस–गोर्खा” हाम्रो द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कडी

सोही अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बेलायती सेनाको “गोर्खा–ब्रिगेडका” प्रमुख मेजर–जनरल जेराल्ड स्ट्रिकल्याण्डले “ब्रिगेड अफ गोर्खा” को सन् २०२४ को वार्षिक प्रतिवेदन पेश गरे।  

राष्ट्रपति पौडेलले सो प्रतिवेदन प्रस्तुत गरेकामा बेलायत सरकारप्रति आभार प्रकट गर्दै  “ब्रिटिस–गोर्खा” हाम्रो द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कडी भएको बताए।

“ब्रिटिस–गोर्खा हाम्रो द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कडी हो, जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्न पनि यसले महत्वपूर्ण योगदान पुर्‍याएको छ”, राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै उनका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए।

पूर्व ब्रिटिश गोर्खाका केही जायज गुनासा सम्बोधन गर्न गठन भएको “द्विपक्षीय संयन्त्र” मा सकारात्मक छलफल भइरहेकै छ भन्ने विश्वास पनि राष्ट्रपति पौडेलले सो अवसरमा व्यक्त गरे।

प्रकाशित: २२ माघ २०८१ १७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App