नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्ने बताएका छन् । विराटनगरमा आयोजित संविधान संसोधन आवश्यकता र चुनौति विषयक अन्तर्क्रियामा बिहीबार बोल्दै डा.कोइरालाले दलहरूवीचको सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्ने धारणा राखेका हुन् ।
डा.कोइरालाले संविधान कांग्रेस र एमालेको मात्रै नभएकाले सबै दलको सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्ने स्पष्ट पारे । ‘संविधान जसरी बनाइयो त्यसरीनै पेलेर संशोधन पनि गर्न खोज्नु उपयुक्त हुँदैन,’ डा कोइरालाले भने, ‘यसका लागि सबै दललाई सहमतिमा लिनु पर्छ ।’
प्रधानमन्त्रीले २०८७ सालमा संविधान संशोधन गर्ने भन्नुको कारण राष्ट्रिय सभामा बहुमत छैन भनेर हुन सक्ने कोइरालाको दाबी थियो । बताए । तर, माओवादी, रास्वपा, मधेशवादी दलहरूसँग पनि छलफल गरेर सहमतिका आधारमा संविधान संशोधन गरे राष्ट्रिय सभामा कांग्रेस र एमालेको बहुमत नचाईने कोइरालाको भनाई छ ।
डा.कोइरालाले अहिलेको प्रत्यक्ष निर्वाचन क्षेत्रलाई रोटेशनका आधारमा कोटा अनुसार प्रतिनिधित्वको सुनिश्चितता गर्न सकिने बताए । प्रत्यक्ष निर्वाचन हुने भएपनि कोटा अनुसार निर्वाचन क्षेत्र तोकेर एउटै समूहका उम्मेदवार उठाउने व्यवस्था गरे प्रत्यक्ष निर्वाचनबाटै समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने डा.कोइरालाको दाबी छ । उनले भने, ‘महिलाको क्लष्टरमा महिला मात्रै, मधेसीको क्लष्टरमा मधेसीमात्रै, जनजातिको क्लष्टरमा जनजातिमात्रै उम्मेदवार उठाएर प्रत्यक्ष निर्वाचनबाट सबै जात जाती र क्षेत्रको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सकिन्छ ।’
डा.कोइरालाले कसैलाई वाइपास गरेर नभईं सबैको भावना समेटेर बहुमतका आधारमा हैन सहमतिका आधारमा संविधान संशोधन गर्नु उपयुक्त हुने बताए ।
प्रकाशित: १७ माघ २०८१ १७:५२ बिहीबार





