१५ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

'मन्त्रीहरूका लागि मात्रै सरकार टिकाउन सकिँदैन'

कांग्रेसको संसदीय दलको बैठक। फाइल।

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसदहरूले पार्टीका तर्फबाट बनेका मन्त्रीहरूको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। सोमबार (आज) बसेको संसदीय दलको बैठकमा सांसदहरूले मन्त्रीहरूको कार्यक्षमतामाथि प्रश्न उठाएका हुन्।

सांसद बिनाकुमारी थनैतले सांसदहरूले बोल्ने क्रममा मन्त्रीहरूको कार्यक्षमता र शैलीमाथि प्रश्न उठाएको बताइन्। 'भावी दिनमा नबिग्रियोस् भनेर सांसदहरूले सुझाव दिनुभयो। प्रश्नहरू पनि उठे,' उनले भनिन्।

अर्का एक सांसदका अनुसार सांसदहरूले मन्त्रीहरूका लागि मात्रै सरकार टिकाउन नसकिने बताएका थिए। ती सांसदले भने, 'सांसदहरूले बोल्ने क्रममा मन्त्रीहरूका लागि मात्रै सरकार टिकाउन नसकिने कुरा उठाउनुभयो। मन्त्रीहरूले पपुलिस्ट कुरा गर्दै हिँडेको तर, काम नगरेको भनेर पनि प्रश्न उठाउनुभयो।'

सांसदहरूले वर्तमान सरकारले जनअपेक्षित काम गर्न नसकेको बताएका थिए। सांसद चन्दा चौधरी नागरिकसँग भनिन्, 'दुईतिहाइको सरकारले पनि जनअपेक्षित काम गर्न सकेन, अब कुन सरकारले गर्छ भनेर माननीज्यूहरूले चिन्ता व्यक्त गर्नुभयो। यो यथार्थै कुरा पनि हो।'

प्रश्न उठेपछि अन्तमा सभापति शेरबहादुर देउवाले मन्त्रीहरूलाई पार्टीका सांसदहरूसँग समन्वय गरेर काम गर्न निर्देशन दिए। सांसद चौधरीले भनिन्, 'सभापतिजीले समन्वयमा काम गर्न निर्देशन दिनुभएको छ।'

आजको बैठकमा प्रकाशशरण महत, विमलेन्द्र निधि, वीरबहादुर बलायर, रामहरि खतिवडा, चन्द्र भण्डारी, दीपक कार्की, रामकृष्ण यादव, सञ्जय गौतम, प्रतीमा गौतम, राजन केसी, कान्तिका सेजुवाल, हृदयराम थानी, पुष्पबहादुर शाही, सरिता प्रसाईं, ज्ञानेन्द्रबहादुर कार्की, सरस्वती बजिमय, मैना कार्की, शंकर भण्डारी, राजेन्द्र बजगाईंलगायतले धारणा राखेका थिए।

अब अर्को बैठक १८ गते बिहान बस्ने प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिएका छन्। १८ गते संसद्को अधिवेशन सुरु हुँदैछ।

प्रकाशित: १४ माघ २०८१ २०:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App