१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

माओवादीमा बन्यो 'शक्ति गुट'

नेकपा (माओवादी केन्द्र) मा नयाँ गुट बनेको छ। अहिले पार्टीको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)को निर्वाचन जारी छ। यही निर्वाचनका क्रममा पार्टी उपमहासचिव शक्ति बस्नेतको नयाँ गुट बनेको हो।

यो गुटमा ३२ वर्षे उमेरहदका कारण बिदा भएका अधिकांश नेताहरू छन् भने उपाध्यक्ष अग्निप्रसाद सापकोटाको गुट पनि मिसिएको बताइन्छ।

यस गुटबाट विजयप्रकाश सापकोटा अध्यक्षका प्रत्याशी छन्। अहिलेसम्मको नतिजा हेर्दा अध्यक्षका रूपमा उनको सम्भावना नकार्न सकिने अवस्था छैन। अध्यक्षका चार प्रत्याशीमध्ये उनलाई टक्कर दिने हेमन्त राई मात्रै छन्, जसलाई अर्का उपमहासचिव जनार्दन शर्माले समर्थन जनाएका छन्। 

अखिल (क्रान्तिकारी)को निर्वाचन।

अध्यक्षका अरु प्रत्याशीहरू सुदिन पौडेल र उपदेश यादव भने निकै पछि देखिन्छन्। यसरी हेर्दा नयाँ गुट बलियो भएर आएको छ।

कतिपयले उक्त गुट अध्यक्ष पुष्पकमल दाहालकै सहयोगमा बनेको बताउँछन्। सापकोटाले मत माग्ने क्रममा आफूलाई हेडक्वार्टर (पुष्पकमल दाहाल)को समर्थन रहेको बताउने गरेको एक मतदाताले बताए। उनले भने, 'उहाँ (विजयप्रकाश सापकोटा) ले मलाई हेडक्वार्टरको सहयोग रहेको छ, मत दिनुहोला भन्नुहुन्थ्यो।'

माओवादीका एक नेता भन्छन्, 'पार्टीमा स्वाभाविक रूपमा गुटहरू हुन्छन्। गुटहरू बन्छन्, भत्किन्छन् यो ठूलो कुरा होइन। त्यसले पार्टी जीवनमा प्रभाव पार्नुहुन्न। हाम्रो पार्टीमा बाह्य रूपमै देखिनेगरी गुटहरू छन् जस्तो लाग्दैन।'

नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र जनार्दन शर्मा।

तर, ती नेता पार्टीभित्र तीनवटा गुटहरू सक्रिय रहेको स्वीकार्छन्। ती नेताले 'गुट लिडर'को नाम त लिएनन् तर, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनको गुट अझै सक्रिय रहेको सङ्केत गरे। 'त्यसबाहेक सबै नेताहरू समग्र पार्टीकेन्द्रित नै हुनुहुन्छ,' ती नेताले भने।

क्रान्तिकारीको निर्वाचनमा नयाँ गुट देखिएको भने उनी स्वीकार्छन्। तर, त्यसले पार्टीलाई असर गर्न नहुने भने उनको विचार छ।

उसो त शक्ति बस्नेत उपमहासचिव वर्षमान पुनको गुटको नेता मानिन्थे। बस्नेतलाई मन्त्री बनाउनमा पुनकै जोड रहने गरेको पनि थियो। तर, अब भने बस्नेतले आफ्नै गुट बनाएका छन्। पुन सचिव हुँदा बस्नेत स्थायी समितिमा मात्रै थिए। अहिले पार्टीमा उनीहरू दुबै उपमहासचिव हुन्।

कुनै बेला पुनको गुट निकै बलियो मानिन्थ्यो। के भनिन्थ्यो भने पार्टीभित्र पुनको गुटको बहुमत ३६ भन्दा बढी जिल्लामा छ। तर, क्रान्तिकारीको निर्वाचनमा भने उनको गुट कमजोर देखिएको छ।

उनले समर्थन गरेको अध्यक्षका प्रत्याशी सुदिन पौडेल जनार्दन शर्माले समर्थन गरेका हेमन्त राई र नयाँ गुटको समर्थनमा उम्मेदवार बनेका विजयप्रकाश सापकोटाभन्दा निकै पछि छन्।

यससँगै माओवादीभित्र स्पष्ट रूपमा चारवटा गुट पुगेका छन्।

प्रकाशित: १४ माघ २०८१ १५:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App