बाँकेको कोहलपुरबाट बर्दियाको राजापुर फिर्ता भइरहेको एम्बुलेन्सले चार जनालाई ठक्कर दिँदा आइतबार बिहान दुई जनाको मृत्यु भएको छ।
गुलरिया-७ स्थित वन डिभिजन कार्यालय नजिक एम्बुलेन्सले चार जनालाई ठक्कर दिएको थियो। दुर्घटनामा पर्दा ५२ वर्षीय हजुरबुबा भुमि लामिछाने र ५ वर्षीय नाति रिहान्स खरेलको मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार मृतक भुमिकी पत्नि सीता लामिछाने र अर्का घाइते सुर्य उपाध्यायको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। चार जना योग गर्न आयुर्बेद अस्पताल जाने क्रममा सडक पार गर्दा तीव्र गतिमा आएको एम्बुलेन्सले ठक्कर दिएको हो।
एम्बुलेन्सको ठक्करबाट मृत्यु भएका लामिछाने योग गुरु हुन्। एकै परिवारको दुई जनाको मृत्यु र दुई जना घाइतको खबरले गुलरिया शोकमा डुबेको छ।
प्रकाशित: ६ वैशाख २०८३ ०८:१५ आइतबार





