१३ माघ २०८१ आइतबार
image/svg+xml
राजनीति

छिचोलियो सिद्धबाबा सुरुङ मार्ग

देश सुरुङ युगमा प्रवेश गर्‍यो: प्रधानमन्त्री

राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङ मार्ग छिचोलिएपछि अवलोकनका क्रममा प्रवेशद्वारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायत। तस्बिर: रासस

रूपन्देहीमा दुईवटा ठुला र महत्त्वपूर्ण आयोजना अगाडि बढेका छन्। सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबामा निर्माणाधीन सुरुङ मार्ग शुक्रबार छिचोलिएको छ। शुक्रबारै चार लेनमा स्तरोन्नति गर्न लागिएको बुटवल–गोरुसिंगे सडकको शिलान्यास पनि गरिएको छ।  

लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूलाई तराईसँग जोड्ने एक मात्र सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग शुक्रबार छिचोलिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल उपस्थितिमा सिद्धबाबा सुरुङ मार्ग छिचोलिएको हो। सुरुङमार्ग छिचोल्न प्रधानमन्त्री ओली शुक्रबार बुटवल आउने कार्यक्रम थियो। तर उनले स्वास्थ्य अवस्थाका कारण देखाएर भर्चुअल रूपमा उपस्थिति जनाए।  

तिनाउ गाउँपालिका–३ स्थित माथिल्लो सिद्धबाबा मन्दिरदेखि विद्युत् पावरहाउससम्म एक हजार १२६ मिटर लामो सिद्धबाबा सुरुङमार्ग निर्माण भइरहेको छ। सुरुङमार्गमा मुख्य टनेल खनेर १.५ मिटर मात्रै बाँकी राखिएको थियो। शुक्रबार त्यही मुख्य सुरुङमा विस्फोट गरेर छिचोलिएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आयोजनामा सिद्धबाबा सुरुङमार्ग र बुटवल–गोरुसिंगे सडक शिलान्यास कार्यक्रमको संयुक्त समारोहलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश सुशासन र विकासको नयाँ युगमा प्रवेश गरेको बताए।

 सिद्धबाबासँगै यसअघि नै थानकोट–नागढुंगा सुरुङ छिचोलिसकेको भन्दै प्रधानमन्त्री ओलीले देश सुरुङ युगमा प्रवेश गरेको बताए। सिद्धबाबा सुरुङमार्गले यात्रालाई सुरक्षित बनाउनुका साथै पश्चिम नेपालका पहाडी जिल्लामा कृषि तथा औद्योगिक विकासको लहर भित्रिने बताए। सुरुङमार्गलाई आर्थिक विकासका लागि समेत प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सुरुङमार्गको काम समयमै सम्पन्न हुने बताए। नेपालको आफ्नै लगानीमा निर्माण हुन लागेको पहिलो सुरुङमार्ग भएको जानकारी दिँदै उनले यो आयोजनाले देशकै लगानीमा पनि धेरै काम गर्न सकिन्छ भन्ने सन्देश दिएको बताए। सिद्धबाबामा सुरुङमार्ग बनाउने भन्दा कतिपयले खिसीट्युरी गरेको स्मरण गर्दै उनले आयोजनाले सार्थकता पाएकामा खुसी व्यक्त गरे।

उनले बुटवलदेखि पोखरासम्मको सडक स्तरोन्नतिको काम सरकारको प्राथमिकतामा रहेको बताए। भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा कार्यक्रम भएको हो। एक हजार १२६ मिटर लामो सुरुङमार्गको कार्य प्रगति ४०.१८ प्रतिशत रहेको आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए। ‘अर्को वर्षको वर्षामा सुरुङमार्गबाटै गाडी गुड्ने गरी निर्माणको काम अगाडि बढाएका छौ,’ आयोजना प्रमुख अधिकारीले भने।

सुरुङ मार्ग निर्माणका लागि २०७८ फागुनमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ठेक्कासम्झौता भएको थियो। चाइना स्टेटसँग सात अर्ब ३४ करोड २१ लाख ४० हजारमा ठेक्कासम्झौता भएको हो।

सुरुङमार्गमा तीनवटा बाइपास बनाइएको छ। पहिलो बाइपासको लम्बाइ १५१ मिटर, दोस्रोको १६१ र तेस्रोको १३० मिटर छ। यी तीनवटै बाइपासको ब्रेकथु्र यसअघि नै भइसकेको छ। सुरुङमार्गभित्र कुनै समस्या भए ती बाइपासबाट बाहिर निस्कन मिल्ने आयोजना प्रमुख अधिकारीले बताए।

अधिकारीका अनुसार यो सुरुङमार्ग विकसित मुलुकहरूले प्रयोग गर्ने गरेको प्रविधि र डिजाइन (न्याथम मेथड) मा बनाइएको छ। सोहीअनुरूप सुरङमार्गको दुवैतर्फको मुखमा भिरपहरा र पहिरोको जोखिमबाट सुरक्षित गर्न रक सेट प्रविधिमार्फत स्वलोप प्रोटेक्सन गरिनेछ। सुरुङको दुवैतर्फको मुखमा सडकदेखि करिब ३५ मिटरमाथिसम्मै रकनेट लगाइने अधिकारीले जानकारी दिए।

बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा रहेको कुहिरे भिरमा वर्षामा मात्रै होइन, हिउँदमा समेत धुले पहिरोले वर्षेनी धेरैको ज्यान लिन थालेपछि यो क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि पहल थालिएको हो।

सरकारले २०७३ को बजेटमा सिद्धबाबा सडकखण्डमा सुरुङमार्ग निर्माण सम्बन्धमा विस्तृत अध्ययनका लागि भन्दै बजेट विनियोजन गरेको थियो। त्यसपछि सिद्धबाबा खण्डलाई सुरक्षित बनाउन सुरुङमार्गसहित अन्य वैकल्पिक उपायहरूका सम्बन्धमा अध्ययनहरू भए। ती अध्ययनहरूबाटै यो क्षेत्रमा सुरुङमार्ग निर्माण उत्तम विकल्प भएको निचोड निकालिएको अर्थमन्त्री विष्णु पौडेल बताउँछन्।

२०७५ सालमा स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेसनले सिद्धबाबा खण्डको सर्भे गरी सुरुङमार्गको डिपिआर तयार गरेको थियो। स्विस कम्पनीको अध्ययन प्रतिवेदनमा सिद्धार्थ राजमार्गको बर्तुङ–चिडियाखोला सडकखण्डको दोभान चौकीदेखि सिद्धबाबा मन्दिरसम्मको दुई हजार सात सय मिटर सडक क्षेत्र निकै जोखिमयुक्त रहेको उल्लेख छ।

 जोखिमयुक्त क्षेत्रमध्ये केहीमा रकसेट प्रविधिमार्फत स्लोप प्रोटेक्सन गर्ने, चट्टानी भिर रहेको क्षेत्रमा सुरुङमार्ग निर्माण गर्नेलगायत सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाइयो। त्यसपछि २०७६ को मंसिरमा अर्थ मन्त्रालयले १० अर्ब १५ करोडको सीमाभित्र रहेर सुरुङमार्ग निर्माणको खरिद प्रक्रिया अघि बढाउन सहमति दिएको थियो। स्रोत सुनिश्चित गरेको झन्डै डेढ वर्षपछि २०७८ मा ग्लोबल टेन्डर आह्वान गरी ठेक्का प्रक्रियामा लगियो।

२०७८ साल फागुनमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ठेक्का सम्झौता भए पनि आयोजनाको भौतिक काम भने २०७९ को अन्त्यतिरबाट सुरु भएको थियो। ठेक्का सम्झौताअनुरूप २०८३ मा सुरुङ निर्माण सक्नुपर्नेछ। आयोजना प्रमुख अधिकारीका अनुसार मुख्य टनेल र बाइपास सुरुङ छिचोलेसँगै भित्रको ढलानको कामअगाडि बढ्नेछ।

 पहुँच सडकको निर्माण, भेन्टिलेसन, लाइटिङ, लाइनिङ, सुरक्षा, आगो निभाउने यन्त्र जडानलगायत काम अब सुरु हुनेछन्। उत्तरतर्फ पोर्टलबाट एक हजार एक सय वर्गमिटर र दक्षिणतर्फ दुई हजार, तिन सय वर्गमिटर स्क्वायर क्षेत्रमा स्लोप निर्माण हुनेछ। सुरुङको बाहिरी खण्डमा रकसेड, रक फल, ब्यारियर, स्लोप प्रोटेक्सनका काम भइरहेको आयोजनाले जनाएको छ। तिनाउ नदीतर्फ पनि ८६० वर्गमिटरमा स्लोप  निर्माण गरिनेछ।

सुरुङमार्गको चट्टानसहितको पहरोमा पनि १७ हजार वर्गमिटरमा स्लोप निर्माण हुनेछ। त्यसमध्ये दुई हजार वर्गमिटरमा स्लोप निर्माण भएको आयोजनाले जनाएको छ।

सुरुङमार्गको दक्षिणतर्फ चिडिया खोलासम्म ९१० मिटर र उत्तरमा दोभानतर्फ ५६० मिटर सडक दुई लेनको बन्नेछ। सुरुङमार्गको दुवैतर्फको मोहोडामा पर्ने करिब ३ किलोमिटर सडकलाई सुरक्षित बनाउन रकनेटलगायत प्रविधि अपनाएर सुरक्षित गरिने सम्झौतामा उल्लेख छ। त्यस्तै उत्तरी र दक्षिणी प्रवेशद्वारमा प्राविधिक भवन र आकस्मिक हेलिप्याड निर्माण हुनेछ। सम्झौताअनुरूप निर्माणपछिका ५ वर्षको मर्मतसम्भार खर्च कम्पनीकै रहनेछ।

सिद्धबाबा सुरुङले मृत्युमार्गलाई जीवनमार्गमा बदल्ने अपेक्षा

तराइलाई पहाडसँग जोड्ने सिद्धार्थ राजमार्ग ५३ वर्षअघि सञ्चालनमा आएको हो। यो राजमार्ग रूपन्देहीको सिद्धार्थनगर बेलहिया (नेपाल भारत सिमा नाका) देखि कास्कीको पोखरासम्म १८१.२२ किलोमिटर छ। यो सडकले भैरहवा–बुटवल हुँदै पाल्पा, गुल्मी, स्याङजा, बाग्लुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका थुप्रै पहाडी जिल्लालाई तराईसँग जोड्छ। यो सडक हुँदै दैनिक हजारौ सवारीसाधन ओहोरदोहोर गर्छन्।

एक दर्जन बढी पहाडी जिल्लाका लागि तराई प्रवेशको एक मात्र सहज सडक हो, सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड। त्यही सडक खण्डको बुटवलस्थित तल्लो सिद्धबाबादेखि पाल्पाको माथिल्लो सिद्धबाबा हुँदै दोभानसम्मको करिब ४ किलोमिटर सडक क्षेत्र पहिरोको अति जोखिम क्षेत्र हो। जहाँ पहिरोसँगै वर्षामा ठाउँठाउँमा सडक भासिइरहन्छ।

यो खण्डमा बुटवलको चिडिया खोलामा तल्लो सिद्धबाबा र त्यसको करिब ५ सय मिटरको दुरीमा पाल्पा दोभानमा माथिल्लो सिद्धबाबा मन्दिर छ। यी दुई मन्दिरको बिचमा र माथिल्लो सिद्धबाबादेखि उत्तरतर्फ दोभान चौकीसम्मै सडकमाथिको ठाडो भिरबाट हिउँदमा धुले र वर्षामा हिले पहिरो झर्छ।

यो क्षेत्रमा बेलाबेलामा झर्ने बढेमानका पहाड जत्रा ढुंगाले कैयौं दिन बाटो अवरुद्ध हुन्छ। यात्रु घण्टौसम्म जोखिम क्षेत्रमै सडकमा अलपत्र पर्छन्। तिनै ढुंगाले च्यापेर थुप्रै सवारीसाधन पुरिएका छन्। पहिरोमा परेर कैयौंले ज्यान गुमाएका छन्। सयौं अंगभंग भएका छन्। करोडौंको सम्पत्ति नास भएको छ।

प्रहरीको तथ्यांकअनुसार यो कुहिरे भिरको चार किलोमिटर सडक खण्डमा मात्रै पछिल्लो डेढ दशकमा करिब ७० वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ९८ जनाले ज्यान गुमाएका छन्। दुई सय बढीको संख्यामा घाइते भएका छन्। अर्बौंका सवारी साधन पुरिएका छन्।

तिनै दुर्घटनाका कारण पछिल्लो समय मृत्यु मार्गको रूपमा परिभाषित गर्न थालिएको त्यही सडक खण्डलाई सुरक्षित बनाउन सरकारले सिद्धबाबा सुरुङमार्गको काम अगाडि बढाएको हो। यो सुरुङ मार्ग निर्माण भएपछि सिद्धार्थ राजमार्गको हुँदै पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, पोखरा, बाग्लुङलगातय लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा ओहोर दोहोर गर्ने सवारीसाधनले कुहिरे भिरको पहिरोको जोखिमबाट मुक्त हुने अपेक्षा गरिएको छ।  

प्रकाशित: १२ माघ २०८१ ०६:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App