९ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

देउवाको दाबी: एमसिसीको विरोध गर्नेले राम्रो रहेछ भन्ने अहिले थाहा पाए

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहायता नियोग(एमसिसी)को पहिले विरोध भए पनि अहिले राम्रो रहेको सबैले थाहा पाएको दाबी गरेका छन्।

कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको ‘नेपालको सन्दर्भमा वैदेशिक सहायताको उपयोग’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । 

‘एमसिसी पास गर्ने बेलामा, सही छाप गर्ने बेलामा अमेरिकी राजदूत आएर भने। मलाई पहिला थाहा थिएन बुझेपछि राम्रो थियो,’ सभापति देउवाले भने, ‘तर धेरै विरोध भयो, संसदमा पास गर्ने बेला । अहिले धेरैलाई थाहा भयो कि त्यो धेरै राम्रो प्रोजेक्ट रहेछ भन्ने।’ 

पहिला अनेक डर देखाउनेले अहिले अनुदानमा आएको परियोजना देख्दा राम्रो रहेको भन्न थालेको देउवाले बताए।

नेपालले आफ्नो विकासमा कस्तो ऋण लिने ? कस्तो अनुदान लिने भन्ने विषयमा गम्भीर भएर ध्यान दिनुपर्ने देउवाले बताए। अहिलेसम्म धेरै ऋण वर्ल्ड बैङ्क, एसियाली बैक, अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफमार्फत लिएको बताउँदै उनले त्यो ऋण निकै सहुलियतपूर्ण हुने गरेको सुनाए। यस्तै जापानको जाइका, कोरियाको कोइकाबाट लिएको ऋण पछि अनुदानमा परिणत हुने गरेको पनि सुनाए । 

‘हामीले ऋणको पासोमा पर्ने गरी ऋण लिनुहुन्न भनेका छौँ। पछिल्लो छलफलले मुलुकलाई राम्रो गरेको छ,’ देउवाले भने । 

प्रकाशित: ९ माघ २०८१ १७:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App