७ वैशाख २०८१ शुक्रबार
राजनीति

निर्णायक वार्ता आज

काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताबारे मंगलबार निर्णायक वार्ता हुने भएको छ । उक्त वार्तामा एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपातलगायतका विषयमा छलफल हुनेछ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवैले मंगलबार केन्द्रीय एकता संयोजन समितिमा निर्णायक वार्ता हुने बताएका छन् । वार्तामा सहमति जुटे वैशाख ९ गते पार्टी एकता हुनेछ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको एमाले स्थायी कमिटी बैठकले वैशाख ९ गते नै एकतालाई अन्तिम रुप दिन गरी छलफल अघि बढाउने निर्णय गरेको छ ।  प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले बैठकमा एकताका विषयमा टुंगो लगाउने गरी मंगलबार छलफल हुने जानकारी गराएका छन्।

‘अध्यक्षले माओवादी अध्यक्ष दाहालसँग भएको छलफलबारे ब्रिफिङ गर्नुभयो,’ स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले भने, ‘उहाँले कार्यदलले बुझाएको मस्यौदामाथि मंगलबारदेखि छलफल गरेर अन्तिम रुप दिइने जानकारी गराउनुभयो । वैशाख ९ गते नै एकता हुने गरी पहल गर्ने निर्णय भएको छ।’

बैठकमा अध्यक्ष ओलीले वैशाख ९ गते नै पार्टी एकता हुने गरी छलफल अघि बढ्ने बताएका थिए । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा पारेर एकता गर्नुपर्ने कार्यदलको सुझाव थियो ।नेम्वाङका अनुसार एकता संयोजन समिति बैठकले पारित गरेका विषयलाई एमाले पोलिटब्युरो तथा केन्द्रीय कमिटीबाट पारित गरिनेछ।

एमालेले वैशाख ६ गते पोलिटब्युरो र वैशाख ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
माओवादी केन्द्रले पनि मंगलबार बिहान शीर्ष नेताहरुबीच छलफल गर्ने तयारी गरेको छ।
सोमबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घन्टासम्म एक्लाएक्लै छलफल भएको थियो ।

छलफलमा दुवै अध्यक्षले एकता प्रक्रियाबारे आआफ्नो धारणा राखेका थिए । प्रधानमन्त्री ओली र दाहालबीच करिब साढे दुई घन्टा छलफल भएको थियो।

‘दुवै अध्यक्षबीच भएको छलफलपछि भोलि (मंगलबार) बिहान नौ बजे केन्द्रीय एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको छ ।’

छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सोमबार बिहान सिन्धुपाल्चोकको सुकुटेबाट काठमाडौंमा आएका थिए । ‘दुवै अध्यक्षबीच भएको छलफलमा भोलि (मंगलबार) बिहान नौ बजे केन्द्रीय एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको छ,’ प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने ।एमाले अध्यक्ष ओलीसँगको बैठक स्थगित गरेर दाहाल आइतबार सिन्धुपाल्चोकको सुकुटेतर्फ लागेका थिए । त्यसपछि वैशाख ९ गते हुने भनिएको एकताबारे आशंका उत्पन्न भएको थियो।

एकता प्रक्रिया निर्णायक चरणमा : दाहाल
एमाले अध्यक्ष ओलीसँग भेटपछि राजधानीमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले मंगलबार एकता संयोजन समितिमा गम्भीर छलफल हुने बताएका छन् ।
शिक्षक संगठनको कार्यक्रममा सम्बोधन गर्दै दाहालले पार्टी एकताको विषय निर्णायक र महत्वपूर्ण चरणमा रहेको बताए । ‘मंगलबार नै यो विषयलाई सक्नुपर्ने आवश्यकता छ,’ दाहालले भने।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच करिब दुई सातासम्म पार्टी एकताबारे संवाद नहुँदा संशय उत्पन्न भएको थियो ।माओवादी र एमालेबीच एकीकृत दलमा दुवै दलबाट केकति सहभागी रहने भन्ने विषय टुंगिएको छैन भने पार्टी विधानमा जनयुद्ध राख्ने वा नराख्ने र चुनाव चिह्न के राख्ने विषयमा पनि सहमति हुन बाँकी छ । माओवादी केन्द्रले समान हैसियतमा मात्रै एकता हुने बताउँदै आएको छ । एमाले भने चुनाव परिणामअनुसार एकता गर्ने पक्षमा छ।

एमाले स्थायी कमिटीका सदस्य नेम्वाङले बाँकी विषयलाई दुवै अध्यक्षबीच हुने सहमतिले निकास दिने बताए ।दुवै दलका कार्यदलले पार्टी एकता केन्द्रीय संयोजन समितिमा गत चैत २० गते विधान र वैचारिक विषयमा मस्यौदा प्रतिवेदन बुझाएका थिए । तर प्रतिवेदनबारे अझै छलफल हुन सकेको छैन ।

प्रकाशित: ४ वैशाख २०७५ ००:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App