९ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा हाजिर हुँदै

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरण

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज जिल्ला अदालत रुपन्देहीमा बयान हुँदैछ। जिल्ला अदालत रुपन्देहीमा आइबार उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको मुद्दा दर्ता भएको थियो। लामिछानेसँग व्यक्तिगत रूपमा २ करोड बिगो दाबी गरिएको छ।

सोही मुद्दाका लागि लामिछाने आज अदालतमा हाजिर हुँदैछन्। त्यसपछि आजै उनको बयान सुरु हुने बताइएको छ। बयान सकिएपछि थुनछेक बहस सुरु हुने जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासीनीले जानकारी दिए।

लामिछाने मंगलबार नै भैरहवा आएका हुन्। रास्वपाका सहकोषाध्यक्ष दिपक बोहोरासहित केही कानुन व्यवसायी पनि उनले काठमाडौँबाटै ल्याएका छन्।

सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा सुरुमा ४२ जनाविरुद्ध मुद्दा परेको थियो। त्यसमध्ये पूर्व गृहमन्त्री समेत रहेका लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु(जिवी) राईसहितका २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा गत आइतबार पूरक मुद्दा दर्ता भएको हो। ती २२ जनाबाट ५५ करोड ५९ लाख बढी बिगो दाबी गरिएको छ।  

त्यस्तै सहकारीका संरक्षक जिवी राई, अध्यक्ष ओमप्रकाश गुरुङ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन, कुमार रम्तेल, सागर केसी लगायतका १७ जनाविरुद्ध थप कसुर र बिगो थपसहितको मुद्दा पनि आइतबारै दर्ता भएको हो।

बुटवलको सुप्रिम सहकारीका १ हजार ८३१ बचतकर्ताले सहकारीमा जम्मा गरेको ठूलो रकम हिनामिना भएको भन्दै सहकारीका संरक्षक गितेन्द्रबाबु (जिबी) राई, अध्यक्ष ओमप्रकाश गुरुङसहितका पदाधिकारी, संचालक तथा कर्मचारीहरूविरुद्ध २०७९ सालको चैतमै प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि सुरु भएको प्रहरीको छानबिन अनुसन्धानले सुप्रिममा सर्वसाधारणले जम्मा गरेको १ अर्ब ३१ करोड मध्ये ८६ करोड १८ लाख बढी रकम राइ र गुरुङको समुहले अपचलन गरेको खुल्यो। त्यसलगत्तै वैशाखमा २८ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। त्यसपछि प्रहरीले पूरक अनुसन्धान गर्यो। पुरक अनुसन्धान प्रतिवेदनमा सुप्रिमका १० हजार ३९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ३१ करोड अपचलन भएको उल्लेख छ।

अनुसन्धानकै क्रममा जिवी, छवि र रवि संलग्न रहेको गोर्खा मिडीया नेटवर्कमा मात्रै सुप्रिमबाट १४ करोड रुपैयाँ गएको पाइएपछि प्रहरीले पुरक अनुसन्धान अगाडि बढाएको थियो। गत पुष २६ गते प्रहरीले लामिछाने र जोशीसहितलाई मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन तयार गरी जिल्ला सरकारी वकिलको कार्यालयलाइ बुझाएको थियो। प्रहरीको अनुसन्धान प्रतिवेदनको अध्ययनपछि जिल्ला सरकारी वकिलको कार्यालयले १७ जनाविरुद्ध थप अभियोग र २२ जनाविरुद्ध पूरक अभियोग पत्र अदालतमा बुझाएपछि मुद्दा दर्ता भएको हो। 

प्रकाशित: ९ माघ २०८१ ०८:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App