प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले सातबुँदे सहमतिको अपमान गरेको बताएका छन्।
बिहीबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। 'अहिले प्रधानमन्त्रीले संविधान संशोधन ०८७ मा गर्ने भनेर भन्नुभएको छ। म अप्ठ्यारो नमानी यो सातबुँदे सहमतिको अपमान हो भन्छु,' उनले भने।
यसअघि गत पुस २३ गते प्रधानमन्त्री ओलीले संविधान संशोधन ०८७ सालमा मात्रै हुने बताएका थिए। जबकि, अहिले सत्तामा रहेका दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीच गत असार १७ गते सत्ता गठबन्धन बनाउने सहमति हुँदा संविधान संशोधन मुख्य विषय थियो।
तर, अहिले आएर प्रधानमन्त्री ओलीले संविधान संशोधनको भाका ५ वर्ष धकेल्दा कांग्रेस झस्किएको छ। यसका बारेमा कांग्रेस नेताहरूले एकपछि अर्को प्रतिक्रिया दिइरहेका छन्।
प्रकाशित: २५ पुस २०८१ १४:३९ बिहीबार