२४ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

पूर्वउपराष्ट्रपति पुनलाई नेताहरूले भनिरहेका छन्- राजनीतिमा नफर्किनुस्

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आइतबार (हिजो) यता जारी छ। बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसमेत उपस्थित छन्। उनी उपाध्यक्षको कुर्सीमा बसेका छन्।

केन्द्रीय सदस्यहरूले भने उनलाई राजनीतिमा नफर्किन सुझाव दिइरहेका छन्। सोमबार (आज) ८० जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए। त्यस क्रममा आदिभन्दा धेरैले उपराष्ट्रपति पुनलाई राजनीतिमा नफर्किन सुझाव दिएका छन्।

एक केन्द्रीय सदस्यले नागरिकसँग भने, 'राजनीतिमा नफर्किनुस् भनेर धेरै नेताहरूले उहाँ (नन्दबहादुर पुन) लाई सुझाव दिनुभएको छ।'

नेताहरू सुदन किराती, इन्द्र आङ्बो, गोम्बु शेर्पा, गोविन्द रोकालगायतका नेताहरूले उपराष्ट्रपति पुन राजनीतिमा फर्किनै नहुने बताएका छन्।

नेता सुदन किरातीले भनेका छन्, 'पूर्वउपराष्ट्रपति राजनीतिमा आउने कुराले राम्रो सन्देश गएन, १२ हातको सरस्वतीलाई ३ हातको मन्दिरमा नराखौँ।' 

यस्तै नेता इन्द्र आङ्बोले उपराष्ट्रपति पुन सामाजिक सेवामा लाग्नुपर्ने बताएका छन्। उनले सुझाव दिएका छन्, 'जिम्मी कार्टर जस्तो भएर बस्नुस्।' कार्टर अमेरिकाका पूर्वराष्ट्रपति हुन्। आफ्नो कार्यकाल सकेपछि उनी राजनीतिमा नफर्की सामाजिक सेवामा लागेका थिए।

यस्तै नेता गोम्बु शेर्पाले पनि पूर्वउपराष्ट्रपति राजनीतिमा फर्किने कुराले बाहिर राम्रो सन्देश नगएको बताएका छन्। 'यसले राम्रो सन्देश गएको छैन। यसमाथि पुनर्विचार गर्नुपर्छ कि।'

नेता गोविन्द रोकाले पनि उनी राजनीतिमा नफर्किनका लागि सुझाव दिएका छन्। 

प्रकाशित: २२ पुस २०८१ १९:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App