सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गरेपछि सडक आन्दोलनको माध्यमबाट मुक्ति पाउने भ्रम नपाल्न आग्रह गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित भुवो पर्व विशेष कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले न्यायिक छानबिन र अनुसन्धानबाट डराउनुपर्ने अवस्था नभएको बताए।
पूर्वगृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै उनले भने, “गल्ती नगरेको भए न्यायिक छानबिनमा नतर्सिनुस्। तर, गल्ती गरेको खण्डमा सडक आन्दोलनले छुटकारा दिलाउँछ भन्ने भ्रम नपाल्नुस्।”
मन्त्री गुरुङले सहकारी क्षेत्रका विकृति र अनियमितता समाधान गर्न सरकार दृढताका साथ लागेको बताए। उनले हालसम्म ६ हजार बचतकर्ताको सम्पूर्ण रकम फिर्ता गरिसकेको, ८ हजार बचतकर्ताको ७० प्रतिशत फिर्ता भइसकेको, र २ हजार बचतकर्ताको ५० प्रतिशत रकम फिर्ता भइसकेको दाबी गरे। “अहिले ६९ हजार बचतकर्ताको रकम फिर्ता गर्न सरकारले काम गरिरहेको छ,” गुरुङले भने।
उनका अनुसार सहकारी क्षेत्रको अनियमितता नियन्त्रण गर्न संसदको सहमति सहित गठन गरिएको अधिकारसम्पन्न संसदीय समितिको प्रतिवेदनका आधारमा छानबिन जारी छ। “सहकारी सम्बन्धी कानुनले प्रभावकारी काम गर्न नसकेका कारण सहकारी नियमनका लागि शक्तिसम्पन्न प्राधिकरण गठन गर्ने प्रक्रियामा छौं,” उनले थपे।
गुरुङले समाजमा विद्यमान विकृति, विसंगति, अन्याय, र भ्रष्टाचारको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले भने, “वर्तमान सरकारले सुशासन कायम गर्दै आर्थिक समृद्धिमा योगदान पुर्याउने उद्देश्यसहित काम गरिरहेको छ। सहकारी क्षेत्रलाई व्यवस्थित गर्न सहकारी संरक्षण कोष स्थापना गर्ने योजनामा समेत सरकार अघि बढेको छ।”
मुलुकको समृद्धि र सुशासनका लागि काम गरिरहेको सरकारलाई दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता मुख्य चुनौती रहेको उनले बताए। “यी विकृतिहरूलाई पराजित गरेर अघि बढ्नुपर्ने जिम्मेवारी हाम्रो हो,” मन्त्री गुरुङले भने।
कार्यक्रममा मन्त्री गुरुङले गल्ती नगरी न्यायिक प्रक्रियालाई सघाउन सबैलाई आग्रह गरे। उनले थपे, “गल्ती गर्नेले कानुनी प्रक्रिया सामना गर्नुपर्छ, तर सडक आन्दोलनले गल्ती लुकाउँछ भन्ने सोच कसैले नगरोस्।”
प्रकाशित: २० पुस २०८१ १५:३१ शनिबार