२४ पुस २०८१ बुधबार
image/svg+xml
शिक्षा

नेत्रसँगको भेटपछि शिक्षामन्त्रीले के भनिन् ? (तस्बिरसहित)

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

शिक्षा क्षेत्र सुधारको माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिरहेका नेत्र चापागाईंलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भेट गरेकी छन्।

शिक्षामन्त्री भट्टराईले सोमबार चापागाईंसँग भेट गर्दै शिक्षा क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर रहेको बताइन्। चापागाईंले ईसीडी शिक्षकको योग्यता, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुविधा, खाजा शुल्क वृद्धि लगायत १४ बुँदे माग राख्दै प्रदर्शन गरिरहेका छन्।

माईतीघरमा चापागाईंलाई भेट्दै शिक्षामन्त्री भट्टराईले चालु आर्थिक वर्षको बजेट तयार भइसकेको कारणले केही समस्या सम्बोधन गर्न कठिनाइ भएको उल्लेख गरिन्। तर, उनले भनिन् "आवश्यक नभएका कार्यक्रमलाई कटौती गरेर तत्कालीन समस्या समाधान गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको छ।"

ईसीडी (बालबालिका विकास) कार्यक्रमको समस्या समाधान गर्न कार्यदल गठन गरिएको र दरबन्दीबारे पुनरावलोकन भइरहेको जानकारी पनि उनले दिइन्। मन्त्रीले हरेक पालिकासँग शिक्षा योजना र शिक्षा पाठ्यक्रम अनिवार्य रूपमा हुनुपर्नेमा जोड दिँदै उनले भनिन्, "सांसदहरू फाइल लिएर हिँड्ने अवस्थाको अन्त्य गर्न आवश्यक छ।"

गत जेठमा चापागाईंले १९ दिनसम्म माईतीघरमा उभिएर आन्दोलन गरेका थिए। त्यसबेला तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले उनका माग सम्बोधन गर्ने आश्वासन दिएकी थिइन्। तर, माग पूरा नभएपछि उनले पुनः उभिएर आन्दोलन सुरु गरेका हुन्।

यसपटक, चापागाईंलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समेत भेटेर छलफल गरेका छन्।

सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: २२ पुस २०८१ १५:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App