नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियो बनाउन नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन्।
शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति सप्तरीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ठुलो संघर्ष र बलिदानबाट अहिलेको लोकतान्त्रिक व्यवस्था प्राप्त भएकाले यसलाई बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने बताए। कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले पार्टी संगठन महत्त्वपूर्ण हुने भन्दै कांग्रेसको संगठन सुदृढीकरणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे।
उनले कांग्रेसकै नेतृत्वमा भएको आन्दोलनले रैतीका रूपमा रहेका जनतालाई नागरिक बनाएको स्मरण गर्दै संविधानसभाबाट कांग्रेस नेतृत्वमै संविधान बनेको बताए। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले आवश्यक्ताको सिद्धान्तअनुसार कांग्रेस-एमालेको सरकार बनेको बताए।
'अहिले संसदको दुई ठुला दल मिलेर सरकार बन्दा कहिँ नभएको भयो भनेको सुन्छु। आवश्यक्ताको सिद्धान्तअनुसार दुई ठुला दल मिलेर सरकार बनेको हो,' उनले भने, 'साना पार्टीले सरकार बनाउँदा अस्थिरता भयो। केही महिनामै सरकार परिवर्तन हुँदा जनतामा निराशा थियो । बलियो सरकार बनोस् भन्ने जनचाहनाअनुसारनै वर्तमान सरकार बनेको हो।'
मन्त्री सिंहले आवश्यकताको सिद्धान्तअनुसार विगतमा बहालवाला प्रधानन्यायाधीशलाई मन्त्रीपरिषद्को अध्यक्ष बनाएको चर्चा गर्दै जनचाहनाअनुसार दुई ठुला पार्टी मिल्नु असामान्य नभएको जिकिर गरे।
राजनीति स्थायित्व विना आर्थिक समृद्धि नहुने भन्दै उपप्रधानमन्त्री सिंहले अहिलेको सरकारले राजनीतिक स्थीरताको जगमा आर्थिक समृद्धिका लागि काम गरिरहेको बताए।
प्रकाशित: १९ पुस २०८१ १६:२६ शुक्रबार