गृहमन्त्री रमेश लेखकले सीमित स्रोत र साधनका बिच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन्।
गृह मन्त्रालयले शुक्रबार आयोजना गरेको जिल्ला सुरक्षा समितिको भर्चुअल बैठकमा बोल्दै गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्यूनीकरण चुनौतीका रुपमा रहेको बताउँदै सीमित स्रोत साधनबाट पनि गम्भीर भएर काम गर्न उनको निर्देशन दिएका हुन्।
“अहिले चुनौतीका रुपमा देखा परेका तीन वटै विषय एकअर्कासित सम्बन्धीत छन् ।” उनले भने, “त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसित पनि समन्वय गरेर लाग्नुहोस्।”
सीमामा हुने अपराध, चोरीशिकारी नियन्त्रण, भ्रष्टाचार न्यूनीकरण र आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीति अपनाउन उनको आग्रह समेत रहेको थियो। मन्त्रालयले कानूनी, नीतिगत र संरचनात्मक सुधारका कामहरू अगाडि बढाएको बताउँदै मन्त्री लेखकले सोही अनुसार कामको गुणस्तर बढाएर जानुपर्नेमा जोड दिए। “शान्ति सुरक्षाको गम्भीर जिम्मेवारी हामीसित छ ।” उनले भने, “ विकास, समृद्धि र लोकतन्त्रको दीर्घ जीवनका लागि शान्ति सुरक्षा हुनैपर्छ ।”
सो अवसरमा गृहसचिव गोकर्णमणि दुवाडीले पनि नतिजा देखिनेगरी काम गर्न निर्देशन दिएका छन्। उनले सेवाप्रवाह प्रभावकारी बनाउन जोड दिदैँ गुनासोरहित सेवाप्रवाहमा ध्यान दिन जोड दिए। त्यसैगरी विपद् व्यवस्थापनका लागि पूर्वतयारी प्रभावकारी बनाउन दुगाडीको निर्देशन थियो।
“सार्वजनिक सम्पतीको संरक्षण र अतिक्रमण हटाउने विषयमा पनि जोड दिएर लाग्नुहोस्।” सचिव दुवाडीले भने, “ जिम्मेवारी र दायरामा रहेर काम गर्नुपर्छ ।” भर्चुअल बैठकमा सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालयको विभिन्न महाशाखाका प्रमुख र देशभरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू सहभागी थिए।
प्रकाशित: १९ पुस २०८१ १६:२० शुक्रबार